टोकियो, जापान ।
जापानमा रहेका नेपालीहरूको सामाजिक एकता, आपसी सद्भाव तथा नयाँ पुस्तामा नेपाली भाषा, कला र संस्कृतिप्रति जागरण गराउने उद्देश्यसहित बिहुँकोट समाज जापान कान्तो क्षेत्रीय समितिले आगामी मे २३ तारिख विशेष BBQ बनभोज तथा बालप्रतिभा प्रस्तुत कार्यक्रम आयोजना गर्ने भएको छ ।
समितिले जापानमा रहेका नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेको हो । कार्यक्रम टोकियोस्थित कासाई रिङ्काई पार्क क्षेत्रमा आयोजना हुने जनाइएको छ ।
समाजले हरेक वर्ष नियमित रूपमा सञ्चालन गर्दै आएको यस कार्यक्रमले नेपाली समुदायबीच भेटघाट, भाइचारा, एकता र मनोरञ्जन प्रवर्द्धन गर्दै आएको आयोजकले जनाएको छ। यस वर्षको कार्यक्रममा विशेष रूपमा बालबालिकाको प्रतिभा प्रस्फुटनलाई प्राथमिकता दिइएको छ।
कार्यक्रमअन्तर्गत “मेरो जन्मभूमि” विषयमा नेपाली भाषामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । जापानमा हुर्किरहेका नेपाली बालबालिकालाई आफ्नो भाषा, संस्कृति, भेषभूषा तथा नेपालीपनसँग जोड्ने उद्देश्यले प्रतियोगिता समावेश गरिएको आयोजकको भनाइ छ। साथै म्युजिकल चेयर लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ।
समितिले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्ना बालबालिकासहित कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।
कार्यक्रमको विवरणः
मिति : २०२६ मे २३, शनिबार
समय : बिहान ११:०० बजेबाट
स्थान : Kasai Rinkai Park (BBQ Area), टोकियो, जापान
कार्यक्रममा सहभागी भई आपसी सम्बन्ध मजबुत बनाउन तथा नेपाली संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग गर्न आयोजकले सबैमा अनुरोध गरेको छ ।