नागोया, जापान ।
जापानको नागोया शहरमा आगामी मे ३०, ३१ र जुन १ तारिखका दिन आयोजना हुन लागेको “नेपाल फेस्टिभल २०२६” को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । जापानमा नेपाली कला–संस्कृतिको प्रवर्द्धन, नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाली समुदायबीच आपसी एकता गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन हुने फेस्टिवलमा नेपाली परिकार, सांस्कृतिक नृत्य, लोकदोहोरी प्रस्तुति, नेपाली हस्तकला तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने बताइएको छ । कार्यक्रममा जापानी नागरिकहरूको उल्लेखनीय सहभागिता सहित नेपालीहरुको पनि सहभागीता रहने छ ।
आयोजकका अनुसार फेस्टिवल नेपाली पहिचानलाई जापानी समुदायमाझ चिनाउने अवसरका रूपमा लिइएको छ । विशेषगरी जापानमा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र परम्परासँग जोड्ने उद्देश्य पनि कार्यक्रमले बोकेको छ।
यसअघि पनि जापानका विभिन्न शहरहरूमा नेपाल फेस्टिभल आयोजना हुँदै आएका छन् । टोकियोमा नियमित रूपमा हुँदै आएको नेपाल फेस्टिभलले नेपाली संस्कृति तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ।
नागोयामा हुन लागेको यस वर्षको फेस्टिभलमा चर्चित कलाकारहरूको प्रस्तुति, नेपाली संगीत तथा मनोरञ्जनका कार्यक्रमहरू आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । आयोजकले नागोया आसपास रहनुहुने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपालीपनको उत्सवका रुपमा मनाउन आग्रह गरेका छन्।
ब्लड बस संचालनार्थ आर्थिक संकलन गरिंदै
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् जापानद्वारा कर्णाली प्रदेशका लागि “ब्लड संकलन बस सेवा” सञ्चालन गर्ने उद्देश्य सहित आर्थिक संकलन अभियान सुरु गरिएको छ । मे ३०, ३१ तथा जुन १ तारिख नागोया, जापानमा आयोजना हुने फेस्टिवलमा उक्त अभियानलाई सहयोग जुटाइने आयोजकले जानकारी दिएका छन्।
अभियानको मुख्य उद्देश्य कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा रगत अभावका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्नु रहेको बताइएको छ । नेपालका ग्रामीण तथा विकट क्षेत्रमा समयमै रक्तसञ्चार सेवा उपलब्ध नहुँदा बिरामीहरूले ठूलो समस्या भोग्नुपरेको भन्दै त्यसलाई सहज बनाउन “ब्लड संकलन बस सेवा” सञ्चालनको योजना अघि सारिएको हो ।
आयोजकका अनुसार अत्याधुनिक सुविधासहितको बसमार्फत ग्रामिण क्षेत्रहरुमा पुगेर रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। यसले स्थानीय स्तरमै रक्त संकलन, सुरक्षित भण्डारण तथा आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको नारा “सके रक्तदान गरौं, नसके रक्तदान र संकलनको पुण्य काममा दान गरौं” राखिएको छ। जापानमा रहेका नेपाली समुदाय, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थालाई अभियानमा सहयोग गर्न आह्वान गरिएको छ।
अभियान संयोजक तथा एनआरएनए आईसिसिका उपाध्यक्ष ददिवल खड्काले मानव जीवन बचाउने उद्देश्यले सुरु गरिएको यस अभियानमा सबै नेपालीको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले जापानमा रहेका नेपाली समुदायले विगतमा पनि विभिन्न सामाजिक तथा मानवीय अभियानमा उल्लेखनीय सहयोग गर्दै आएको उल्लेख गर्दै नागोयामा हुने कार्यक्रममा आर्थिक सहयोग संकलनसँगै नेपाली समुदायबीच सचेतना अभिवृद्धि, रक्तदानको महत्वबारे जानकारी तथा सामाजिक एकताको सन्देश पनि प्रवाह गरिने बताउनुभयो ।