(Japan) 28 th April | 2026 | Tuesday | 4:50:16 PM || (Nepal) 1:35:16 PM
 
 


सूर्य खड्काको नयाँ गीत 'निप्पोन दाइसुकी, नेपारु दाइसुकी’ मा जापानी गायिका कोउतो मारियासँग अन्तर्राष्ट्रिय सहकार्य

  POSTED ON : Tuesday, 28 April, 2026 | Views : 230

सूर्य खड्काको नयाँ गीत 'निप्पोन दाइसुकी, नेपारु दाइसुकी’ मा जापानी गायिका कोउतो मारियासँग अन्तर्राष्ट्रिय सहकार्य


टोकियो, जापान ।

प्रवासी नेपाली गायक सूर्य खड्काको नयाँ गीत 'निप्पोन दाइसुकी, नेपारु दाइसुकी’ (मलाई नेपाल मन पर्छ, मलाई जापान मन पर्छ) सार्वजनिक भएको छ । जापानी गायिका कोउतोउ मारिया सँगको सहकार्यमा सार्वजनिक गरिएको खड्काको नयाँ गितले अन्तर्राष्ट्रिय स्वाद दिएको छ ।


जापानमा बस्दै आएका नेपाली गायक सूर्य खड्का ले आफ्नो नयाँ गीत उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो, जसले सार्वजनिक भएसँगै प्रवासमा रहेका नेपालीहरूबीच विशेष चर्चा पाउन थालेको छ ।


नेपाल–जापान सांगीतिक सहकार्य

यस गीतको विशेष आकर्षण भनेको जापानी गायिका कोउतोउ मारिया सँगको सहकार्य हो । साथमा नेपाल जापान सम्वन्धको चर्चा र दुई देशबिचको मित्रतापूर्ण प्रचार । कोउतोउ र खड्काको सुमधुर स्वरले गीतलाई अन्तर्राष्ट्रिय स्वाद दिएको छ भने नेपाली र जापानी भाषाको संयोजनले यसलाई अझै मौलिक र फरक बनाएको छ।


गीतको शब्द तथा संगीत स्वयं सूर्य खड्काले तयार पारेका हुन् भने संगीत संयोजन याम थापा मगरले गरेका छन्। यसरी हेर्दा यो गीत पूर्ण रूपमा प्रवासमै बसेर तयार गरिएको एक उत्कृष्ट सांगीतिक प्रस्तुति हो।


जापानमै छायांकन, आकर्षक दृश्य

गीतको म्युजिक भिडियो जापानका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको छ, जसले जापानको आधुनिकता र सौन्दर्यलाई झल्काउँछ । भिडियोमा सितल सापकोटा, टिष्टी पौडेल, साकुरा बिवाहाशी र मोमो ताकागीको आकर्षक अभिनय देख्न सकिन्छ।


छायांकन गोविन्द बिष्ट ले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरेका छन्, जसले भिडियोको दृश्यात्मक पक्षलाई अझ मजबुत बनाएको छ।


गीतको सन्देश : संस्कृतिको सेतु

‘मलाई नेपाल मन पर्छ’ केवल मनोरञ्जनात्मक गीत मात्र नभई दुई देशबीचको सांस्कृतिक सेतुको रूपमा प्रस्तुत भएको छ । साथै निप्पोन दाईसुकी भन्दै जापान मनपर्छ भनेर नेपालीहरुको तर्फबाट जापानप्रतिको भाव र सद्भाव दुवै झल्काएको छ ।


साथमा खड्काको यो गितले नेपाली र जापानी भाषाको संयोजन, दुई देशबीचको मित्रता र सम्मान एवं जापानमा रहेका नेपालीहरूको भावनालाई गीतले अत्यन्तै सुन्दर ढंगले उजागर गरेको छ।


विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि यो गीतले आफ्नो मातृभूमिप्रतिको माया, पहिचान र संस्कृतिप्रतिको गर्वलाई पुनः जागृत गराउने खालको रहेको प्रतिक्रिया आउन थालेको छ।


गीतको सबैभन्दा भावुक पक्ष भनेको जापानी गायिका कोउतो मारियाले प्रस्तुत गरेको सन्देश हो। उनले गीतमार्फत

“गौतम बुद्ध नेपालमै जन्मिएका हुन्”

“सगरमाथा नेपालमै अवस्थित छ”

भन्ने सन्देश दिएकी छन्, जसले नेपालीहरूको राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने काम गरेको छ। यस्तो प्रस्तुति नेपाली दर्शकका लागि गर्वको विषय बन्ने विश्वास गायक खड्काले व्यक्त गरेका छन् ।

सूर्य खड्काको यो नयाँ गीतले केवल संगीत मात्र होइन, नेपाल र जापानबीचको सम्बन्ध, संस्कृतिको आदान–प्रदान र प्रवासी नेपालीहरूको भावना समेत समेटेको छ।


अन्तर्राष्ट्रिय सहकार्य, बहुभाषिक प्रस्तुति र सशक्त सन्देशका कारण ‘मलाई नेपाल मन पर्छ’ गीतले निकट भविष्यमा अझ ठूलो लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ ।