टोकियो, जापान ।
जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि पनि महत्त्वपूर्ण सामाजिक–आर्थिक चासोको विषय बन्दै गएको जन्मदर घट्ने समस्यालाई सम्बोधन गर्न जापानको कोची प्रान्तले नयाँ प्रकारको पहल सुरु गरेको छ ।
स्थानीय सरकारले विवाह गर्न इच्छुक २० देखि ३९ वर्ष उमेर समूहका अविवाहित युवा युवथिहरूलाई लक्षित गर्दै प्रेममा पार्ने सरकारले स्विकृत गरेको डेटिङ एप वा म्याचमेकिङ सेवा प्रयोग गर्दा अधिकतम २० हजार येनसम्मको आर्थिक अनुदान दिने योजना सार्वजनिक गरेको छ ।
यो योजना साधारण वा क्याजुअल डेटिङका लागि नभई दीर्घकालीन वैवाहिक सम्बन्ध स्थापना गर्न चाहने युवाहरूलाई केन्द्रित गरिएको प्रशासनले स्पष्ट पारेको छ । पछिल्लो समय जापानमा विवाह र सन्तान जन्माउने दर लगातार घट्दै गएपछि युवाहरूलाई परिवार स्थापना गर्न प्रेरित गर्ने उद्देश्यले यस्तो प्रविधिमैत्री कार्यक्रम ल्याइएको हो।
कोची प्रशासनले यस अभियानलाई प्रभावकारी बनाउन Tapple जस्ता विश्वसनीय डेटिङ प्लेटफर्महरूसँग सहकार्य गरेको छ। प्रयोगकर्ताले गम्भीर सम्बन्धको उद्देश्यसहित यी एप प्रयोग गरेको प्रमाणित भएपछि मात्र अनुदान प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
जापानमा सन् २०२५ मा जन्मदर ऐतिहासिक न्यून स्तरमा झरेपछि केन्द्रीय तथा स्थानीय सरकारहरूले विभिन्न उपायहरू अघि सारेका छन्। टोकियो, मियाजाकी प्रान्त र आइची प्रान्त जस्ता क्षेत्रहरूले पनि आफ्नै डेटिङ एप तथा एआई-आधारित म्याचमेकिङ प्रणाली सञ्चालन गरिरहेका छन्, जसले युवाहरूलाई उपयुक्त जीवनसाथी खोज्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यस अनुदानका लागि आवेदक सम्बन्धित क्षेत्रको आधिकारिक बासिन्दा हुनुपर्ने, अविवाहित भएको प्रमाण पेश गर्नुपर्ने लगायतका कडा मापदण्डहरू पूरा गर्न आवश्यक छ। जापानमा बसोबास गर्ने विदेशी नागरिक—विशेषगरी नेपालीहरू—ले पनि यदि उनीहरू स्थानीय रूपमा दर्ता भएका छन् र पर्याप्त जापानी भाषा क्षमता राख्छन् भने यो सुविधा लिन सक्ने सम्भावना रहेको जनाइएको छ।
यद्यपि, कम तलब, रोजगारीको अस्थिरता र सन्तान हुर्काउन लाग्ने उच्च खर्चका कारण धेरै युवाहरू अझै विवाहप्रति आकर्षित हुन सकेका छैनन्। सरकारले सन् २०२६ देखि सुत्केरी सम्बन्धी खर्च पूर्ण रूपमा बेहोर्ने योजना बनाएको भए पनि यस्ता डिजिटल पहलहरूले वास्तविक रूपमा कति प्रभाव पार्छन् भन्ने विषयमा जापानभर बहस जारी रहेको छ।