(Japan) 24 th April | 2026 | Friday | 3:17:32 PM || (Nepal) 12:02:32 PM
 
 


जापानमा ‘इन्ट्रा–कम्पनी ट्रान्सफ्री’ भिसामा कडाइ, अब सरकारी प्रमाण अनिवार्य

  POSTED ON : Friday, 24 April, 2026 | Views : 36

जापानमा ‘इन्ट्रा–कम्पनी ट्रान्सफ्री’ भिसामा कडाइ, अब सरकारी प्रमाण अनिवार्य


टोकियो, जापान ।

जापान सरकारले विदेशी कामदारका लागि ‘इन्ट्रा–कम्पनी ट्रान्सफ्री’ भिसा आवेदन प्रक्रियामा कडाइ गरेको छ । अप्रिल १ देखि लागू नियम अनुसार अब आवेदकहरूले विदेशमा काम गरेको प्रमाण पुष्टि गर्न सामाजिक सुरक्षा, कम्पनी दर्ता र करसम्बन्धी आधिकारिक कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ ।

जापान सरकारले विदेशी कामदारसम्बन्धी भिसा प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन भन्दै ‘इन्ट्रा–कम्पनी ट्रान्सफ्री’भिसा आवेदन प्रक्रियामा कडाइ गरेको छ । जापान अध्यागमन बिभागका अनुसार अप्रिल १ देखि लागू गरिएको नयाँ नियमले आवेदन प्रक्रियामा उल्लेखनीय परिवर्तन ल्याएको हो।

नयाँ प्रावधान अनुसार अब आवेदकहरूले जापान आउनुअघि आफ्नो मातृदेश वा अन्य देशमा सम्बन्धित कम्पनीमा वास्तवमै कार्यरत रहेको पुष्टि गर्न आधिकारिक तथा सार्वजनिक प्रमाण पेश गर्नुपर्नेछ।

यसमा सामाजिक सुरक्षा बिमामा आबद्ध भएको प्रमाण, कम्पनीको विधिवत् व्यवसाय दर्ता कागजात, र कर तिरेको विवरणजस्ता कागजातहरू अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि भने कम्पनी वा रोजगारदाताले जारी गरेको साधारण ‘वर्क एक्सपिरियन्स’ पत्र मात्र पेश गरे पुग्ने व्यवस्था थियो । तर, यस्तो पत्रले कामदारको वास्तविक अनुभव र रोजगारीको अवस्थाबारे स्पष्ट जानकारी नदिने तथा कतिपय अवस्थामा दुरुपयोग हुने देखिएपछि सरकारले नियम कडा बनाएको हो।

अध्यागमन अधिकारीहरूले क्योदो न्यूजलाई दिएको जानकारी अनुसार, पछिल्लो समय केही व्यक्तिहरूले नक्कली वा अपूर्ण कागजात प्रयोग गरी भिसा प्राप्त गर्ने प्रयास बढेकाले यस्तो कडाइ आवश्यक भएको बताइएको छ। नयाँ नियमले भिसाको दुरुपयोग रोक्न, योग्य कामदार मात्र भित्र्याउन र श्रम बजारलाई व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

यससँगै सरकारले अन्य कामसम्बन्धी भिसा श्रेणीहरूमा पनि क्रमशः कडाइ बढाएको छ। ‘बिजनेश म्यानेजर’ भिसाका लागि आवश्यक न्यूनतम लगानी रकममा वृद्धि गरिएको छ भने ‘गिजिनकोकु’ अर्थात् Engineer/Specialist in Humanities/International Services भिसामा भाषा दक्षताको प्रमाणलाई अझ कडाइका साथ अनिवार्य बनाइएको छ।

तथ्याङ्क अनुसार, सन् २०२५ को अन्त्यसम्ममा जापानमा ‘इन्ट्रा–कम्पनी ट्रान्सफ्री’ भिसा अन्तर्गत करिब १९,००० विदेशी नागरिकहरू कार्यरत रहेका थिए। क्योदो न्यूजका अनुसार सरकारले आगामी दिनमा पनि विदेशी कामदारसम्बन्धी नीतिहरूलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने संकेत दिएको छ ।