(Japan) 18 th April | 2026 | Saturday | 9:50:25 PM || (Nepal) 6:35:25 PM
 
 


जापानमा विमानभित्र पावर बैंक प्रयोगमा प्रतिबन्ध लगाउने तयारी

  POSTED ON : Thursday, 19 February, 2026 | Views : 466

जापानमा विमानभित्र पावर बैंक प्रयोगमा प्रतिबन्ध लगाउने तयारी


टोकियो, जापान ।

जापान सरकारले हवाई सुरक्षालाई थप कडाइ गर्ने उद्देश्यले विमानभित्र पावर बैंक (पोर्टेबल चार्जर) प्रयोगमा प्रतिबन्ध लगाउने योजना अघि बढाएको छ ।

जानकारी अनुसार, भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले आगामी अप्रिलदेखि नै यो नियम लागू गर्ने तयारी गरिरहेको छ।

स्रोतहरूका अनुसार, नयाँ व्यवस्था अन्तर्गत यात्रुले विमानमा अधिकतम दुईवटा मात्र पावर बैंक लैजान पाउनेछन् । उडानका क्रममा पावर बैंक प्रयोग गर्न नपाइने गरी नियम ल्याउने योजना बनाइएको छ ।

हालैका वर्षहरूमा उडानका क्रममा पावर बैंकबाट धुवाँ निस्किने वा आगलागी हुने घटनाहरू बढेपछि यस्तो निर्णय लिन लागिएको बताइएको छ । अन्तर्राष्ट्रिय उड्डयन सुरक्षासम्बन्धी निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पनि मार्च अन्त्यतिर नयाँ विश्वव्यापी मापदण्ड लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा जापानले कडा कदम चाल्न लागेको हो ।

गत वर्ष जनवरीमा दक्षिण कोरियाको बुसान स्थित विमानस्थलमा एक यात्रुवाहक विमानमा आगलागी भएको थियो, जसको कारण ओभरहेड कम्पार्टमेन्टमा रहेको पावर बैंक सुल्किएको हुनसक्ने अनुमान गरिएको थियो । उक्त घटनाले विश्वभर हवाई सुरक्षाबारे चिन्ता बढाएको छ ।

गत जुलाईदेखि नै जापानी अधिकारीहरू र एयरलाइन्सहरूले यात्रुहरूलाई पावर बैंक सामान राख्ने माथिल्लो भण्डारणमा नराखी सजिलै देखिने स्थानमा राख्न र जहिले पनि निगरानी गर्न सकिने अवस्थामा मात्र प्रयोग गर्न आग्रह गर्दै आएका थिए ।

नयाँ नियम लागू भएपछि विमानभित्र लिथियम ब्याट्रीसम्बन्धी सुरक्षा झन् कडाइ हुने अपेक्षा गरिएको छ। अधिकारीहरूका अनुसार यसले सम्भावित दुर्घटना रोक्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न मद्दत पुर्‍याउनेछ।