टोकियो, जापान ।
जापानकी प्रधानमन्त्री सानाए ताकोइचीले बहुदलीय छलफलपछि खाद्य तथा पेय पदार्थमा लाग्दै आएको उपभोग कर (कन्जम्प्शन ट्याक्स) दुई वर्षका लागि स्थगित गर्ने लक्ष्य रहेको बताएकी छन् ।
संसदबाट पुनः प्रधानमन्त्रीमा निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले सकेसम्म छिटो कर कटौती लागू गर्ने इच्छा व्यक्त गरिन्, तर यसको ठ्याक्कै समय भने गर्मीयामसम्म हुने छलफलपछि तय हुने उनको भनाई छ ।
हाल ८ प्रतिशत रहेको करदर घटाउने पहल लगातार बढ्दो मुद्रास्फीतिबाट प्रभावित घरपरिवारलाई राहत दिन गरिएको हो । ताकाइची नेतृत्वको सत्तारुढ गठबन्धन र विपक्षी दलहरू यस विषयमा विस्तृत छलफल गरिरहेका छन् ।
प्रधानमन्त्रीले देशको संकट व्यवस्थापन र भविष्यको आर्थिक वृद्धिका लागि जिम्मेवार ढंगले सरकारी खर्च बढाउने प्रतिबद्धता दोहोर्याइन् । साथै उनले बैंक अफ जापानले मूल्य स्थिरता र तलब वृद्धिलाई सन्तुलनमा राख्ने गरी उचित मौद्रिक नीति अपनाउने अपेक्षा व्यक्त गरिन् ।
सरकारी प्रोत्साहन बढ्ने अपेक्षाले जापानी सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ, तर विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा कमजोर मानिने देशको वित्तीय अवस्था झन् बिग्रने चिन्ता पनि व्यक्त गरिएको छ ।
फेब्रुअरी ८ को निर्वाचनमा स्पष्ट जनादेश पाए पनि ताकाइचीले आफूलाई मनपरी नीति लागू गर्ने स्वतन्त्रता नभएको बताइन् । तथापि, सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको प्रमुखका रूपमा शान्तिवादी संविधान संशोधन गर्ने दीर्घकालीन लक्ष्यतर्फ अघि बढ्ने उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग हुने शिखर भेटबारे उनले विश्वासको सम्बन्ध अझ बलियो बनाउने र सुरक्षा, अर्थतन्त्र तथा संस्कृतिसहित सबै क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरिन्। ट्रम्पले हालैको निर्वाचनअघि ताकाइचीलाई समर्थन गरेका थिए र उनको दलको ठूलो जितप्रति खुशी व्यक्त गरेका छन्।
त्यसैगरी, जापानमा बसोबास गर्ने विदेशीहरूको बढ्दो सङ्ख्याबाट उत्पन्न चुनौती सम्बोधन गर्दै “व्यवस्थित सहअस्तित्व” सुनिश्चित गर्ने नीति लागू गरिने पनि प्रधानमन्त्रीले बताइन् । ताकाइची सरकारमा आएपछि जापानले बिदेशीहरुप्रति कडा अध्यागमन नीति अपनाउन थालेको छ ।