(Japan) 27 th August | 2026 | Thursday | 10:10:22 AM || (Nepal) 6:55:22 AM
 
 


नेपाल जापान सम्वन्ध : जापानको कोमागाने शहरमा बरबिपल चौतारो निर्माण हुने

  POSTED ON : Sunday, 14 December, 2025 | Views : 984

नेपाल जापान सम्वन्ध : जापानको कोमागाने शहरमा बरबिपल चौतारो निर्माण हुने


टोकियो, जापान ।

जापानमा रहेको सक्रिय सामाजिक संस्था कास्की पोखरा समाज जापानले जापानको नागानो प्रान्तस्थित कोमागाने सहरका नगर प्रमुखसँग आपसी सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न गरेको छ ।

उक्त छलफलमा नेपाल–जापान नागरिक आदान–प्रदान संघ (Nepal Exchange Citizens Association) नेपाल पुस्तकालय (नेपारु लाइब्रेरी) का प्रतिनिधि तथा सहभागीहरूको पनि उपस्थिति रहेको थियो ।

भेटघाटका क्रममा नेपाल–जापानबीच सामाजिक, स्वास्थ्य तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो । छलफलका प्रमुख एजेन्डाहरूमा पोखरास्थित मातृ शिशु मितेरी अस्पताललाई सहयोग पुर्याउने उद्देश्यले व्यक्तिगत तथा कर्पोरेट फुरुसातो नोउजे (Hometown tax) सञ्चालन गर्ने, कोमागाने सहरमा नेपाली समुदायको नेपाली चौतारो (बर पिपल सहित) निर्माण गर्ने, साथै केयरगिभर (Caregiver) सञ्चालन गर्ने विषयहरू समावेश रहेका थिए ।

कोमागाने सहरमा यस्ता सांस्कृतिक प्रतीक समेटिएको संरचना निर्माण गर्ने प्रस्तावले आपसी समझदारी, संस्कृतिप्रतिको सम्मान र दीर्घकालीन मित्रताको सन्देश प्रवाह गर्ने सहभागीहरूले बताएका छन् ।

उक्त कार्यक्रममा कोमागाने सहरका नगर प्रमुख इतो युजो, एनआरएनए आईसीसी उपाध्यक्ष तथा कास्की पोखरा समाज जापानका संरक्षक रोबिन शेरचन, समाजका उपाध्यक्ष बिसु भण्डारी, निवर्तमान अध्यक्ष सन्देश अधिकारी लगायतको सहभागिता रहेको थियो ।

कोमागाने सहर र नेपाल (पोखरा) बीचको सम्बन्ध

कोमागाने सहर (जापान) र पोखरा सहर (नेपाल) बीच सन् २००१ अप्रिल १८ मा 'अन्तर्राष्ट्रिय सहयोग मैत्री सहर' सम्झौता सम्पन्न भएको हो । दुवै सहर पर्वतीय पर्यटन सहरका रूपमा परिचित छन् ।

यस साझेदारी अन्तर्गत पोखरामा 'कोमागाने–पोखरा फ्रेन्डसिप पार्क' निर्माण गरिएको छ । जाइकाको कोमागाने प्रशिक्षण केन्द्रमार्फत धेरै स्वयंसेवकहरू पोखरामा खटिँदै आएका छन्। सन् १९९५ देखि कोमागाने सहरका माध्यमिक तहका विद्यार्थीहरू पोखरा भ्रमण गर्दै शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा सहभागी हुँदै आएका छन् ।

नेपाल–जापान नागरिक आदान–प्रदान संघको पहलमा, स्वास्थ्य उपकरण तथा एम्बुलेन्स सहयोग, नेपाल लाइब्रेरी र विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत दुवै देशबीचको आपसी समझदारी र मित्रता क्रमशः अझ गहिरिँदै गएको छ ।