टोकियो, जापान ।
अध्यागमन नीतिमा कडाई सहित भिषा लगायत बिदेशी नागरिकहरुबाट लिइने शुल्कहरुमा १० गुणासम्म बृद्धिको तयारी प्रधानमन्त्री सानाए ताकाइची सरकारले गरिरहँदा टोकियो महानगरकी मेयर युरिको कोइकेले भने नगरका बासिन्दाहरुलाई राहत बाँड्नमा ध्यान दिएकी छिन् ।
बढ्दो महंगीका कारण मारमा परेका बिदेशी सहित सबै टोकियोवासीहरुलाई आर्थिक भार कम गर्न प्रत्येक परिवारलाई कोइके नेतृत्वको महानगरले थप ३०,००० येन उपलब्ध गराउने तयारी गरेको छ । यो सहयोग जनवरी २०२६ देखि मार्च २०२७ बीच बच्चा जन्माउने हरेक परिवारका लागि लक्षित हुने समाचारमा उल्लेख छ ।
महानगरका अधिकारीहरूका अनुसार यो रकम राष्ट्रिय विस्तृत आर्थिक प्याकेजमा समावेश गरिएको स्थानीय निकायको अनुदान कोषबाट उपयोग गरिनेछ । यसअघि नै टोकियोले १० मान येन बराबरको गिफ्ट कार्ड प्रदान गर्दै आएकोमा अब यो नयाँ थप सुविधा सहित कुल १३ मान येन हुने भएको छ ।
यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा टोकियोमा जन्मदर १० वर्षपछि सकारात्मक देखिएको र यसलाई अझ बढावा दिन आर्थिक सहयोग विस्तार गर्न लागिएको अधिकारीहरुले बताएका छन् ।
यसका साथै, टोकियोले आफ्नो स्मार्टफोन एपको प्रयोगकर्ताका लागि दिने प्वाइन्ट सुविधामा पनि वृद्धि गरेको छ । सुरुमा माइ नम्बर कार्डमार्फत प्रमाणीकरण गर्ने १५ वर्षभन्दा माथिका टोकियोका बासिन्दालाई ७,००० येन बराबरको प्वाइन्ट दिने घोषणा गरिएकोमा अहिले बढेको महँगीको सामना गर्न सो रकम ११,००० येन पुर्याइएको छ ।
यो कदमले बालबालिकाको हेरचाहमा हुने खर्चलाई कम गर्न सहयोग पुग्ने टोकियो महानगरको अपेक्षा छ ।