टोकियो, जापान ।
जापानमा भर्खरै उदाएको आफूलाई राष्ट्रवादी दल बताउने एक दलले जापानमा विदेशीहरुको संख्यामा 'सिमा तोक्न' र नागरिकता लिएकाहरुको समेत रद्द गर्न सक्ने कानूनको प्रस्ताव सार्वजनिक गरेको छ ।
जापानको राजनीतिक दल निप्पोन इशिन नो काई (जापान इनोवेशन पार्टी) ले विदेशी नीतिसम्बन्धी नयाँ विवादास्पद प्रस्तावहरू सार्वजनिक गरेको छ । पार्टीले जापानको कुल जनसंख्यामा विदेशीहरूको अनुपातमा सीमा तोक्ने (कुल सीमा नियमन) लागू गर्नुपर्ने माग गरेको छ । यस प्रस्तावअनुसार विदेशी नागरिकहरूलाई स्वीकार गर्ने संख्या सीमित गरिनेछ । अर्थात् निश्चित संख्या भन्दा बढि बिदेशीहरुलाई जापानमा भिषा दिइने छैन वा निस्कासन गरिनेछ ।
प्रस्तावमा नागरिकता प्राप्तिको प्रक्रियालाई कडा बनाउने र नागरिकता लिएका बिदेशीहरुको पनि खारेज गर्न सकिने नयाँ प्रणाली स्थापित गर्न माग गरिएको छ ।
पार्टीका सह-प्रतिनिधि फुमिताके फुजिताले पत्रकार सम्मेलनमा सम्भव भएसम्म कम अनुपातमा विदेशी जनसंख्या राख्नु आवश्यक रहेको बताएका छन् ।
यो प्रस्ताव सेप्टेम्बर १९ मा कानुनमन्त्रीलाई बुझाउने उक्त दलले बताएको छ । जापानले भने कामदार अभावको चर्को सामना गरिरहँदा थप बिदेशी कामदार भित्राउन पहल र सम्झौताहरु गरिरहेको छ ।
जापानमा हाल ३७ लाख भन्दा धेरै बिदेशीहरु बसोबास गर्दै आएका छन् । जसमा नेपालीहरुको संख्या आगामी बर्ष करिव ३ लाख आसपास पुग्ने अनुमान गर्न थालिएको छ ।