टोकियो, जापान ।
जापानको मिए प्रिफेक्चरमा नदीमा डुबेर एक नेपाली युवाको असामयिक निधन भएको छ ।
मिए प्रान्तको माचुसाकामा नेपाली युवाको नदीमा डुबेर ज्यान गएको हो । प्राप्त विवरण अनुसार सेप्टेम्बर १६ तारिख मंगलबार साथीहरूसँग कुसिदा नदीमा पौडी खेल्ने क्रममा २६ वर्षीय तीर्थराज आचार्यको मृत्यु भएको हो । जापानी संचारमाध्यमहरुले जनाए अनुसार मृतक आचार्य सुजुका शहरमा बस्दै आएका थिए । हाल उनि एक कम्पनीमा कार्यरत थिए ।
प्रहरीका अनुसार, आचार्य अन्य ४ जना नेपाली साथीहरुसँगै नदीमा डुबुल्कि मार्दै थिए । तर अचानक नदिको बहावमा परेर उनि बेपत्ता हुन पुगेका थिए ।
साथीहरूले उनलाई करिव १५ मिनेटपछि पानीबाट बाहिर निकालेर अस्पताल पुर्याए पनि डाक्टरहरूले मृत घोषित गरेको समाचारमा उल्लेख छ ।
दुर्घटना भएको ठाउँमा पानीको गहिराइ २ मिटरभन्दा बढी रहेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।
जापानमा बर्षेनी खोला तथा नदिमा नुहाउन तथा रमाईलोका लागि साथिहरुसँग जाँदा डुबेर वा असावधानिबस खस्न पुग्दा पछिल्ला बर्षहरुमा लगातार नेपालीहरुको निधन हुने गरेको छ ।
कतिपय घटनामा खोलामा नुहाउन वा पौडन जाँदा मादक पदार्थ सेवन, पौडन नजानेपनि खोला नदिमा गहिरो तथा पानिको बेग भएको ठाउँमा पस्ने जस्ता गल्तिका कारण समेत नेपालीहरुले ज्यान गुमाएका दुःखद घटनाहरु हुने गरेका छन् ।