टोकियो, जापान ।
जापानको राजधानी टोकियो नजिक खानागावाको योकोहामा शहरमा एक नेपाली युवतिले चलाएको मिनिबाईकको ठक्करबाट अर्को मिनिबाईकमा सवार एक जापानी पुरुषको निधन भएको छ ।
जापानी समाचार संस्था याहुन्यूजमा प्रकाशित समाचार अनुसार ८ तारिख बिहान करिव पौने दुई बजेको समयमा उक्त दुर्घटना भएको हो । योकोहामाको खानागावा वार्डमा बस्ने ६६ बर्षिय एक पुरुष पत्रिका डेलिभरीम्यानले चलाएको मिनीबाइक योकोहामाको कामोई २ चोमे, मिदोरी वार्डको चोकमा अर्को मिनीबाइकसँग ठोक्किएको थियो । घाईते जापानी व्यक्तिलाई अस्पताल लगिएकोमा उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका थिए ।
मिदोरी प्रहरीले अटोमोबाइल ड्राइभिङ सजाय ऐन (लापरवाही चोट) उल्लङ्घन गरेको आशंकामा योकोहामाको कामोई-चो की २३ बर्षिया नेपाली युवतीलाई पक्राउ गरेको छ । उक्त समयमा ति नेपाली युवती पनि पत्रिका डेलिभरीको काम गर्दै गरेको बताइएको छ ।
मिनीबाइक चालक नेपाली युवतीलाई अटोमोबाइल ड्राइभिङ सजाय ऐन (लापरवाही चोट) उल्लङ्घन गरेको आशंकामा पक्राउ गरिएको थियो तर पछि प्रहरीले नेपाली युवतिमाथि लापरवाहीपूर्ण ड्राइभिङ गरेर हत्या गरेको आरोप परिवर्तन गरेको बताइएको छ । यसको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरी चौकीका अनुसार घटनास्थल ट्राफिक लाइट बिनाको चौबाटोमा पर्दछ । पुरुषको मिनीबाइक सहि दिशामा सडकमा यात्रा गरिरहेको बेला दायाँबाट सिधै यात्रा गरिरहेको महिला मिनीबाइकसँग ठोक्किएको आशंका प्रहरीको छ । मिनिबाईक ठक्करमा नेपाली युवतीलाई भने कुनै चोटपटक लागेको छैन ।
प्रहरीले नेपाली युवतीको परिचय खुलाएको छैन ।