टोकियो, जापान ।
इरान–सम्बन्धी युद्ध सुरु भएपछि होर्मुज जलडमरूमध्य पार गरेर जापान आइपुग्ने पहिलो जापानी तेल ट्यांकर सोमबार सुरक्षित रूपमा जापान पुगेको छ । ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने उक्त मार्ग लामो समयदेखि तनावका कारण प्रभावित बनेको थियो ।
जापानको प्रमुख तेल प्रशोधन कम्पनी इदेमित्सु कोसान (Eneos Holdings) अन्तर्गत सञ्चालित उक्त ट्यांकरले करिब २० लाख ब्यारेल कच्चा तेल बोकेर जापानको आइची प्रिफेक्चरमा तेल आपूर्ति गरेको हो । यो परिमाण जापानको दैनिक घरेलु मागको झण्डै ८० प्रतिशत बराबर रहेको बताइएको छ ।
जहाजमा रहेका तीन जापानी सहित सम्पूर्ण चालक दल सुरक्षित र स्वस्थ रहेको सम्बन्धित स्रोतहरूले जनाएका छन् ।
जापान सरकारका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले पत्रकार सम्मेलनमार्फत जहाजको सुरक्षित आगमनलाई “स्थिर ऊर्जा आपूर्तिका लागि सुखद समाचार” भन्दै स्वागत गरेका छन् ।
इरानले प्रभावकारी रूपमा होर्मुज जलडमरूमध्य बन्द गरेपछि जापान सरकारले इरानसँग सबै देशका जहाजलाई सुरक्षित र स्वतन्त्र आवागमनको सुनिश्चितता गर्न आग्रह गरेको थियो ।
सरकारी विवरणअनुसार हाल पनि जापानसँग सम्बन्धित ३९ वटा जहाज फारसको खाडी क्षेत्रमा रोकिएका छन् । तीमध्ये एक जहाजमा जापानी चालक दलसमेत रहेका छन् ।
किहाराले सबै जहाजलाई सुरक्षित रूपमा मार्ग पार गराउन जापान सरकारले कूटनीतिक पहल र अन्तर्राष्ट्रिय समन्वयलाई निरन्तरता दिने बताएका छन् ।
जहाज ट्र्याकिङ प्रणाली (AIS) को तथ्यांकअनुसार ३०० मिटरभन्दा लामो ‘इदेमित्सु मारु’ नामक पनामाली झण्डा बोकेको जहाज फेब्रुअरी अन्त्यतिर फारसको खाडी पुगेको थियो । त्यसपछि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै क्षेत्रीय तनाव चुलिएको थियो ।
उक्त जहाजले साउदी अरेबियाबाट कच्चा तेल लोड गरी मार्चको सुरुवातमा फर्कने प्रयास गरेको भए पनि जलडमरूमध्य बन्द भएपछि अबुधाबी नजिकै केही समय रोकिएको थियो । पछि अप्रिल २८ मा होर्मुज जलडमरूमध्य पार गर्न सफल भएको स्रोतहरूले बताएका छन् । जहाजले इरानलाई कुनै ट्रान्जिट शुल्क नतिरेको पनि उल्लेख गरिएको छ ।
फारसको खाडीबाट बाहिरिएपछि जहाज भारत नजिकको समुद्री क्षेत्र हुँदै मलक्का जलडमरूमध्य पार गरेर अन्ततः जापान पुगेको हो ।
यसैबीच जापानकै अर्को ठूलो तेल कम्पनी एनेओस होल्डिङ्स (Eneos Holdings) को एक तेल ट्यांकरले पनि मे महिनाको मध्यतिर होर्मुज जलडमरूमध्य पार गरिसकेको छ । उक्त जहाज मे अन्त्यदेखि जुनको सुरुवातसम्म जापान आइपुग्ने अपेक्षा गरिएको छ ।