(Japan) 24 th June | 2026 | Wednesday | 11:25:31 PM || (Nepal) 8:10:31 PM
 
 

गर्भवति महिलालाई कोरोना संक्रमण भए गम्भीर बनाउने जोखिम

  POSTED ON : Thursday, 20 January, 2022 | Views : 2768

गर्भवति महिलालाई कोरोना संक्रमण भए गम्भीर बनाउने जोखिम


टोकियो, जापान ।

जापानमा कोरोना भाइरसबाट संक्रमित भएका गर्भवति महिलामा गम्भीर लक्षण देखिने सम्भावना उच्च रहेको पाइएको छ ।

जापानको राष्ट्रिय शिशु स्वास्थ्य तथा विकास केन्द्र समेतका संघसंस्थाहरुले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणअनुसार जापानमा संक्रमित गर्भवति महिलामा मध्य वा गम्भीर खालको लक्षणहरु देखिने क्रम गर्भधारण  नगरेका महिलाको तुलनामा झन्डै दोब्बर पाइयो ।

संक्रमित गर्भवति महिलाहरुलाई लक्षित गरेर बृहत स्तरमा अध्ययन भएको जापानमा यो पहिलो पटक हो । अध्ययनमा सन् २०२० को जनवरी देखि सन् २०२१ को अप्रिलको बीचमा विश्व स्वास्थ्य र औषधिका लागि राष्ट्रिय केन्द्रले सञ्चालन गरेको डेटाबेसमा दर्ता भएका कोभिडका कारण अस्पतालमा भर्ना भएर बसेका १५ देखि ४४ वर्षबीचका करीब ४ हजार महिलाहरुको अवस्थाको विश्लेषण गरिएको थियो ।

गर्भवति महिला मध्ये १८ जनामा मध्य वा गम्भीर खालको लक्षणहरु देखिएको थियो । यो ९ दशमलव ६ प्रतिशत भएको बताइएको छ ।

गर्भवति नभएका महिलाहरुमा भने यस्तो अनुपात ४ दशमलव ९ प्रतिशत मात्रै रहेको पाइएको छ । मध्यम र गम्भीर खालको लक्षणहरु देखिएका बिरामीहरुमा गर्भधारणको १४ देखि २७ हप्ता वा सो भन्दा धेरै अवधि भएका बिरामीको अनुपात ९३ दशमलव १ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

यसले गर्भधारणको शुरुआती चरणमा रहेका महिलाको तुलनामा धेरै हप्ता नाघिसकेका महिलामा कोभिडको गम्भीर लक्षण देखिने सम्भावना उच्च रहेको तर्फ संकेत गरेको छ ।