(Japan) 24 th June | 2026 | Wednesday | 11:25:25 PM || (Nepal) 8:10:25 PM
 
 

जापानमा क्यान्सर भएकाको बाच्ने आयु बढ्यो, कुन क्यान्सर र उमेरका कति बाँच्छन्, यस्तो छ तथ्यांक

sajina moktan   POSTED ON : Saturday, 25 December, 2021 | Views : 4586

जापानमा क्यान्सर भएकाको बाच्ने आयु बढ्यो, कुन क्यान्सर र उमेरका कति बाँच्छन्, यस्तो छ तथ्यांक


टोकियो, जापान ।

क्यान्सर रोग पत्ता लागेका मानिसहरुको बाँच्ने औषत आयु जापानमा बढेको छ । हालैको नयाँ तथ्यांक अनुसार क्यान्सर भएको पत्ता लागेको कम्तिमा १० बर्ष बाँच्ने व्यक्तिहरुको संख्या ६० प्रतिशत नाघेको छ ।

सन् २००९ मा क्यान्सर पत्ता लागेका मानिसहरूको बाच्ने दर जापानमा ६०.२ प्रतिशत पाईएको राष्ट्रिय क्यान्सर केन्द्रले शुक्रबार एक सर्वेक्षण प्रतिवेदनमा भनेको छ ।

बाँच्ने दर अघिल्लो सर्वेक्षणको तुलनामा ०.८ प्रतिशत बिन्दुले बढेको छ । जसमा २००८ मा क्यान्सर रोग पत्ता लागेका मानिसहरु समेटिएका थिए ।

१० वर्ष बाँच्ने दर राष्ट्रव्यापी रुपमा २८१ अस्पतालहरूमा २९३,८६० बिरामीहरूको तथ्याङ्कबाट गणना गरिएको थियो । अन्य कारणले मृत्यु भएका क्यान्सर रोगीहरुलाई यसमा समेटिएको थिएन ।

१० बर्षसम्म बाँच्ने दर प्रोटेस्ट क्यान्सरको लागि शत प्रतिशत देखिएको छ । स्तन क्यान्सरको लागि ८७.८ प्रतिशत, पाठेघरको क्यान्सरको लागि ७०.५ प्रतिशत  र आन्द्राको क्यान्सरको लागि ६७.५ रहेको छ । प्यान्क्रियाटिक क्यान्सरको लागि दर सबैभन्दा कम ६.७ प्रतिशत पाईएको छ ।

क्यान्सर सेन्टरका फुमिहिको वाकाओ भन्छन् 'चिकित्सा हेरचाहमा भएको प्रगतिको कारणले सबै बिरामीहरूमा १० बर्षसम्म बाँच्ने दर लागू हुन सक्दैन तर यसलाई सन्दर्भको रूपमा प्रयोग गर्न सकिन्छ ।'

केन्द्रले सन् २०१३-२०१४ मा ४३७ अस्पतालमा क्यान्सर पत्ता लागेका ८७५,३८१ व्यक्तिहरूमध्ये पाँच वर्ष बाँच्ने दर ६७.५ प्रतिशत रहेको बताएको छ, जुन अघिल्लो सर्वेक्षणको तुलनामा ०.२ अंकले बढी हो ।

१४ वर्ष उमेर सम्मका बालबालिकाहरूको लागि, पाँच वर्ष बाँच्ने दर ल्युकेमियाको लागि ८८ प्रतिशत र मस्तिष्कको क्यान्सरको लागि ७४.६ प्रतिशत रहेको छ ।

१५ देखि ३९ वर्षका बीचमा पाँच वर्ष बाँच्ने दर ल्युकेमियाको ७५ प्रतिशत र र स्तन क्यान्सरका लागि ९० पुगेको सर्वेक्षणमा पाईएको छ ।