टोकियो, जापान ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको उपसमितिले कोरोना सङ्क्रमण रोक्न खाने औषधिको पहिलो स्विकृती दिएको छ ।
अमेरिकी 'फार्मास्युटिकल कम्पनी मर्क'ले विकास गरेको कोरोना भाइरस औषधि 'मोल्नुपिराभिर' को प्रयोगलाई २४ गते आयोजित विज्ञ समूहको बैठकले अनुमोदन गरेको हो ।
कोभिड संक्रमितमा हुने बढ्दो समस्या रोक्नको लागि प्रभावकारी रहेको यो औषधि जापानमा पहिलो स्विकृत खाने औषधि हो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले यसलाई तुरुन्त स्वीकृत गर्ने योजना बनाएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले यस वर्षको अन्त्यसम्ममा 'मर्क'बाट दुई लाख व्यक्तिको लागि खाने औषधि आपूर्ति प्राप्त गर्ने र अर्को हप्तादेखि बिरामीहरूले लिन सक्ने गरी चिकित्सा संस्थाहरूमा पुर्याउने सहमति गरेको छ ।
'मोल्नुपिराभिर' नामक औषधिले कोरोना संक्रमण भएपछि बढ्दो समस्यालाई रोक्छ, कोरोनाको लक्षण देखा परेको ५ दिनभित्र यो औषधि सेवन गर्न चिकित्सकहरुले सिफारिस गर्ने गरेका छन् ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सकेसम्म सकारात्मक व्यक्ति र उनीहरूको वरपरको सम्पर्कबाट बच्न बिरामीलाई फार्मेसीमा नभई घरमै यो औषधि लिन दिने नीति लिएको छ ।
चिकित्सा संस्थाले बिरामीको नजिकको 'फार्मेसी'मा 'फ्याक्स' इत्यादि मार्फत 'प्रिस्क्रिप्शन' पठाएमा मात्र 'फार्मेसी'मा 'फार्मासिस्ट'ले बिरामीलाई टेलिफोन वा 'अनलाइन'बाट औषधि कसरी लिने भनेर सिकाउनेछन् । त्यसपछि 'क्यारियर' मार्फत औषधि 'डेलिभरी' गरिने बताईएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले पहिले नै प्रिफेक्चरहरू मार्फत यो औषधि वितरण गर्न सकिने 'फार्मेसी'हरू सूचीबद्ध गरिसकेको छ ।