टोकियो, जापान ।
टोकियोको एउटा अस्पतालले गर्भमा रहेको भ्रूणको गम्भीर हृदय रोगको सफल शल्यक्रिया गरेको छ । चिकित्सकहरुले यो जापानको पहिलो गम्भीर महाधमनी 'स्टेनोसिस'को शल्यक्रिया भएको बताएका छन् ।
यसै वर्षको जुलाईमा गर्भावस्था २५ हप्ताको हुँदा शल्यक्रिया गरिएको बच्चा जन्मिएको र राम्रो प्रगति गरिरहेको बाल स्वास्थ्य तथा विकास राष्ट्रिय केन्द्रले जनाएको छ ।
शरिरमा रगत प्रवाह कम गराउने खालको गम्भीर अवस्थामा सफल शल्यक्रिया भएको बताईएको छ ।
अनुसन्धान संस्था समेत रहेको अस्पतालका अनुसार शिशुको जन्मपछि शल्यक्रिया गर्न सकिने भए पनि गर्भमा हुँदा बच्चाको मुटुमा परेको दबाबका कारण पूर्णरुपमा निको हुन कठिन हुने गरेको छ ।
नयाँ उपचारको सुरक्षा पुष्टि गर्न 'क्लिनिकल' अध्ययनको रूपमा गरिएको शल्यक्रियाको क्रममा, डाक्टरहरूले 'अल्ट्रासाउन्ड'को साथ आमाको पेट भित्रको विस्तृत अनुगमन गरेर बच्चाको मुटुमा 'क्याथेटर' घुसाएका थिए ।
डाक्टरहरूले 'भल्भ' फराकिलो गर्न 'क्याथेटर'मा जोडिएको बेलुन प्रयोग गरेको बताएका छन् ।
शल्यक्रिया गर्ने अस्पतालका उपनिर्देशक हारुहिको सागोले भ्रुण उपचारमा सीमित संख्यामा रोग भए पनि जन्मजात मुटुसम्बन्धी रोगको लागि यस्तो उपचार सम्भव भएको यो घटना धेरै महत्वपूर्ण रहेको बताए ।
केन्द्रका अनुसार यो रोग दुर्लभ छ, जुन १०,००० नवजात शिशुमध्ये तीन वा चारमा मात्र देखिन्छ ।
केन्द्रले रोगको उपचारका लागि यस्ता शल्यक्रियाको संख्या बढाउने योजना बनाएको छ ।
गर्भमा रहेको शिशुको यस्तै शल्यक्रिया युरोप र अमेरिकामा सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । यद्यपी जापानको हकमा भने यो पहिलो सफलता भएको चिकित्सकहरुले बताएका छन् ।