टोकियो, जापान ।
नेपालको चर्चित तीन वटा ब्याण्ड सहित जापानमा सम्भवत पहिलो पटक भव्य ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने भएको छ ।
युवा पुस्ता लक्षित सांगीतिक कन्सर्टको नाम ‘नेपाल म्युजिक फेस्ट २०२५’ दिइएको छ । म्यूजिक फेस्ट जापानका प्रमुख चार शहरमा आयोजना हुँदैछ । अगष्ट महिनामा राजधानी टोकियो सहित ओसाका, फुकुओका र नागोयामा आयोजना हुन लागेको ‘नेपाल म्युजिक फेस्ट २०२५’आयोजक चन्द्रसुर्य ईभेन्टस् ईन्टरनेशनलका सदस्य सुरोज महर्जनले जानकारी दिनुभयो ।
‘नेपाली गीत संगीतलाई विश्वव्यापिकरण गर्ने उदेश्य सहित जापानको इतिहासमै नेपालीहरुको पहिलो म्यूजिक फेस्टिवल आयोजना गरेको आयोजकले नेपाली संगीत, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत पुग्ने विश्वास आफुहरुले लिएको बताएको छ ।
एकाध कलाकार वा कुनै एक व्याण्ड विशेषलाई लिएर कन्सर्टहरु भइरहने जापानमा आयोजकले दर्शकहरुलाई समेत एउटै टिकटमा तीन चर्चित व्याण्डहरुलाई एकसाथ एउटै मञ्चमा प्रस्तुत गरेर जापानमा रहेका नेपाली गीतसंगित प्रेमीहरुलाई सूवर्ण मौका दिएको छ ।
म्यूजिक फेस्टिवलमा नेपालको चर्चित र लोकप्रिय सांगितिक समूह स्वर, द एज र कबवेबले विशेष प्रस्तुति पस्कनेछ ।
परम्परागत नेपाली धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने स्वरले आफ्ना चर्चित गीत ‘अपरिभाषित’, ‘बादल सरी’, ‘म मरे पनि’ जस्ता गीतमार्फत जापानका दर्शकको मन जित्ने प्रयास गर्नेछ ।
भावनात्मक ऊर्जा र सामाजिक सन्देश सहित राष्ट्रप्रेम समेटिएका गीतमार्फत युवा पुस्तासँग जोडिएको द एज ब्यान्डको लागि म्यूजिक फेष्ट विशेष हुँदैछ । किनभने द एज व्याण्डले जापानमा आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव विशेष मनाउने छ ।
नेपालमा रक गीतलाई स्थापित गराउन सफल कबवेब ब्यान्ड आफ्ना फ्यान फलोविगंहरुको साथमा जापानका शहरहरुमा स्टेज तताउन तम्तयार देखिएको छ ।
राजधानी टोकियोको बेल साले ताकादानोबाबाबाट कन्सर्ट सुरु हुनेछ । जहाँ अगष्ट ३ तारिख झण्डै ३ हजार दर्शकहरुले नेपाली गीतले टोकियोलाई गुञ्जायमान बनाउने अपेक्षा आयोजकको छ ।
टोकियो पश्चात ओसाकामा अगष्ट ८ तारिख नाम्बा ह्याचमा म्युजिकल हंगामा मच्चाएर म्यूजिक फेष्टको टोलिले फुकुओकाको जेप्प फुकुओकामा अगष्ट ११ तारिख करिव २ हजार नेपालीलाई नेपाली संगीतको धुनमा नचाउने विश्वास गरिएको छ ।
तीन चर्चित नेपाली व्याण्डको साथमा 'नेपाल म्यूजिक फेष्ट २०२५' को अन्तिम प्रस्तुती जापानको नागोया शहरमा रहेको डायमन्ड हलमा हुनेछ । जहाँ करिव २ हजार जनाले नेपाल म्युजिक फेष्टको आनन्द लिनेछन् ।
नेपाली सहित नेपाली गीत संगीतप्रेमी जापानी तथा रक, पप गीतका पारखी बिदेशीहरूलाई समेत लक्षित गरी आयोजकले सोहि अनुसार प्रचार प्रसारलाई व्यापक बनाएको छ ।
नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने अपेक्षा गरिएको म्यूजिक फेस्टको टिकट अनलाईनमा मेरोटिकट मार्फत तथा भौतिक रुपमा विभिन्न स्थानमा खरिद गर्न सकिनेगरि आयोजकले व्यवस्था मिलाएको छ ।
टोकियोको लागि करिव २ हजार टिकट विक्रि गरिसकेको आयोजकका अनुसार दैनिक सय भन्दा बढि टिकट विक्रि भइरहेकाले नेपाल म्यूजिक फेस्ट २०२५ टोकियो सांगीतिक महोत्सव अगष्ट २ अघिनै सोल्ड आउट हुने देखिएको बताएको छ ।
भव्य ठूला सांगीतिक कार्यक्रम हुने स्थानहरुलाई म्यूजि फेस्ट स्थल छनौट गरेको आयोजकले ध्वनि, प्रविधि, प्रकाश, सुरक्षाकर्मी, स्वयंसेवक सहित सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको बताएको छ ।
‘हामी हाम्रो संगीत, हाम्रो संस्कृति, हाम्रो नेपालमा गर्व गर्छौं’ भन्ने नाराका साथ सुरु हुन लागेको नेपाल म्युजिक फेस्ट २०२५ जापानमा रहेका नेपालीहरुका लागि एउटा ऐतिहासिंक सांगीतिक महोत्सव हुने देखिएको छ ।
जापानमा नेपाली गीतसंगितको जग बसाल्न वर्षेनी सांगितिक कार्यक्रमहरु आयोजना गर्दै आएको चन्द्रसुर्य ईभेन्टस् ईन्टरनेशनले जोन्स दि लोकल, १९७४ एडिको साथमा यो मन त नेपाली हो, सविन राई एण्ड दि फराओ, दि स्याडोज नेपाल जापान टुर लगायत आधा दर्जन बढि भव्य र सफल सांगितिक कन्सर्ट आयोजना गरिसकेको छ ।