एजेन्सी ।
अमेरिकी–इजरायली संयुक्त आक्रमणमा मृत्यु भएको चार महिनापछि इरानका पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह औपचारिक रूपमा सुरु भएको छ ।
अन्त्येष्टिअघि लगातार ६ दिनसम्म सर्वसाधारणका लागि श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिने भएको छ । यस अवधिमा देशभर शोकसभा, श्रद्धाञ्जलि तथा र्यालीहरूको आयोजना गरिने इरानी अधिकारीहरूले जनाएका छन् ।
खामेनीको शव हाल तेहरानस्थित ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ, जहाँ श्रद्धाञ्जलि अर्पण गर्न दशौं हजार नागरिक पुगेका छन् । शवलाई समारोहस्थलमा ल्याइनुअघि नै ग्रान्ड मोसल्ला परिसरमा ठूलो भीड जम्मा भएको थियो । सहभागीहरूले अमेरिकाविरुद्ध नाराबाजी गर्दै खामेनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
इरानी अधिकारीहरूले अन्त्येष्टि समारोहमा करिब दुई करोड मानिस सहभागी हुने अपेक्षा गरेका छन् । उनीहरूले यसलाई ‘शताब्दीकै सबैभन्दा ठूलो अन्त्येष्टि’ को रूपमा समेत वर्णन गरेका छन् ।
खामेनीको अन्तिम संस्कार आगामी बिहीबार उनको जन्मस्थान मसहद मा गरिने कार्यक्रम तय गरिएको छ । अमेरिका–इरानबीच युद्ध अन्त्यको घोषणा भएको केही दिनपछि नै यो अन्त्येष्टि प्रक्रिया सुरु भएको हो ।
अन्त्येष्टि समारोहमा १०० भन्दा बढी देशका प्रतिनिधिमण्डल सहभागी भएका छन् । पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, रुस, भारत लगायतका देशका उच्चस्तरीय प्रतिनिधिहरू तेहरान पुगेका छन् ।
समारोहमा अमेरिका–इरान शान्ति वार्तामा मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभ, अफगानिस्तानका तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्तकी लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति रहेको छ । साथै साउदी अरेबिया, कतार र दुबईसहित पश्चिम एसियाका अमेरिकासँग निकट सम्बन्ध भएका मुलुकका प्रतिनिधिहरूले पनि समारोहमा सहभागिता जनाएका छन् ।