टोकियो, जापान ।
जापानमा रहेका नेपाली लोकसंगीत प्रेमीमाझ ठूलो उत्साहका साथ प्रतिक्षा गरिएको “प्रथम जापान लोक तारा २०२६” तथा वरिष्ठ लोक तथा दोहोरी गायक अमर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारीलाई आयोजकले तीव्रता दिएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन विभिन्न चरणका तयारीहरू अन्तिम चरणमा पुगेका छन् ।
प्रतियोगितालाई निष्पक्ष, स्तरीय र प्रतिस्पर्धात्मक बनाउन अनुभवी तथा चर्चित कलाकारहरूको निर्णायक मण्डल समेत सार्वजनिक गरिएको छ। आयोजकका अनुसार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव, चर्चित गायक तथा सर्जक रामकृष्ण बम मल्ललाई निर्णायक संयोजकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै प्रतिष्ठानका केन्द्रीय सदस्य तथा लोकप्रिय लोकदोहोरी गायक सूर्य खड्का र चर्चित लोकगायिका ज्योति लोहोनी निर्णायक सदस्यको रूपमा रहनेछन् । अनुभवी कलाकारहरूको उपस्थितिले प्रतियोगिताको स्तर अझ उचाइमा पुग्ने विश्वास आयोजकले लिएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली लोकदोहोरी क्षेत्रका अग्रज व्यक्तित्व, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ गायक अमर बिरही गुरुङको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ ।
लामो समयदेखि नेपाली लोकसंगीत क्षेत्रमा योगदान दिँदै आएका गुरुङका लोकप्रिय गीत तथा सांगीतिक प्रस्तुतीले जापानमा रहेका नेपाली दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ। आयोजकका सचिव दिपक कंडेल ‘सफल’का अनुसार अमर बिरही गुरुङको उपस्थितिले कार्यक्रमलाई अझ विशेष, सांगीतिक तथा स्मरणीय बनाउनेछ।
आगामी जुन १४ तारिख आइतबार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा आयोजना हुने कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ। “हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिताले जापानमा रहेका नेपाली युवापुस्तामाझ लोकदोहोरी संगीतप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ। साथै जापानमा रहेका नेपाली कलाकार तथा नयाँ प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराउने उद्देश्य पनि कार्यक्रमले बोकेको आयोजकको भनाइ छ।
प्रतियोगिताको अडिसन प्रक्रियामा सहभागी प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट प्रतिभा छनोट गर्ने प्रक्रिया पनि सार्वजनिक गरिएको छ। आयोजकले जनाएको तालिका अनुसार मे २४ तारिख आइतबार टप १० प्रतिस्पर्धीको नतिजा सार्वजनिक गरिनेछ भने मे ३१ तारिख आइतबार सेमिफाइनल चरणमा प्रवेश गर्ने प्रतियोगीहरूको नाम घोषणा गरिनेछ। सेमिफाइनल चरणमा फिजिकल अडिसनसँगै लाइभ बाजाको साथमा प्रस्तुति दिनुपर्ने व्यवस्था गरिएको छ, जसले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने प्रतियोगीलाई १ लाख १ हजार येन, द्वितीयलाई ५१ हजार येन, तृतीयलाई ३१ हजार येन तथा सान्त्वना पुरस्कारस्वरूप ११ हजार येन प्रदान गरिने आयोजकले जनाएको छ। साथै उत्कृष्ट प्रतिभाहरूलाई आगामी दिनमा सांगीतिक क्षेत्रमा अघि बढ्न थप अवसरहरू समेत उपलब्ध गराउने तयारी रहेको बताइएको छ।
प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेलले जापानमा रहेका नेपाली समुदायबीच लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए। उनले जापानमा रहेका नेपाली कलाकार, संगीतप्रेमी तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रम सफल बनाउन सहयोग, सहभागिता र उपस्थितिका लागि आग्रह गरेका छन्। उनका अनुसार “प्रथम जापान लोक तारा २०२६” जापानमा नेपाली लोकदोहोरी संगीतको इतिहासमा एउटा महत्वपूर्ण सांगीतिक अभियानका रूपमा स्थापित हुने विश्वास लिइएको छ।