(Japan) 2 nd June | 2026 | Tuesday | 3:24:16 PM || (Nepal) 12:09:16 PM
 
 

ताइफु ‘जाङ्मी’को प्रभाव : उडान र शिन्कान्सेन सेवामा असर - जापानभर भारी वर्षा, तीव्र हावा

  POSTED ON : Tuesday, 02 June, 2026 | Views : 202


टोकियो, जापान ।

शक्तिशाली आँधी ‘जाङ्मी’को प्रभावका कारण जापानका विभिन्न क्षेत्रहरूमा भारी वर्षा, तीव्र हावा तथा समुद्री छाल बढ्ने चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान निकायले विशेष गरी दक्षिणी क्युशु, अमामी क्षेत्र तथा प्रशान्त महासागर तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मंगलबार मध्यान्ह सम्म आँधी अमामी क्षेत्रको पश्चिम–उत्तरपश्चिम भागतर्फ रहेको बताइएको छ । यसले अघि बढ्दै जाँदा जापानका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा गराउने अनुमान गरिएको छ ।

ओकिनावा क्षेत्रमा आँधीको प्रारम्भिक प्रभाव देखिइसकेको छ । तीव्र हावाका कारण विभिन्न संरचनामा क्षति पुगेको छ भने कम्तीमा १० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ओकिनावाको नाहा बिमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु हिजोबाटनै प्राय अवरुद्ध भएका छन् ।


मौसम विभागका अनुसार किन्की क्षेत्रमा २४ घण्टाभित्र ३५० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । साथै, जापानको प्रशान्त तटीय क्षेत्रका अन्य स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।


अधिकारीहरूले आवश्यक परे ‘लेभल–४’ आपतकालीन चेतावनी जारी गर्न सकिने बताएका छन् । यो चेतावनीलाई अत्यन्त गम्भीर मानिन्छ, जसले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई तुरुन्त सुरक्षित स्थानमा सार्न वा स्थानान्तरण हुनुपर्ने संकेत गर्दछ ।


यसैबीच, आँधीका कारण जापानभर हवाई सेवामा पनि असर देखिन थालेको छ। मंगलबार बिहान ४ बजेसम्म क्युशु क्षेत्रलाई केन्द्र बनाएर कम्तीमा ३२६ उडान रद्द गरिएको जानकारी दिइएको छ।


जापान एयरलाइन्सले कागोशिमा, मियाजाकी र ताकामात्सु विमानस्थलसँग सम्बन्धित १७० उडान रद्द गरेको छ भने अल निप्पोन एयरवेजले कागोशिमा र मियाजाकी आउने जाने सम्पूर्ण उडानसहित ६७ उडान रद्द गरेको जनाएको छ । अन्य वायुसेवा कम्पनीहरूले पनि मौसम अवस्था अनुसार थप उडान रद्द हुन सक्ने भन्दै यात्रुहरूलाई नियमित अपडेट जाँच गर्न अनुरोध गरेका छन् ।


रेल सेवा पनि प्रभावित हुन सक्ने सम्भावना देखिएको छ । जापान रेल कम्पनीहरूले मंगलबार रातिदेखि बुधबारसम्म तोकाइदो शिन्कान्सेन सेवामा ढिलाइ वा केही सेवा रद्द हुन सक्ने चेतावनी दिएका छन् ।


यद्यपि सान्यो र क्युशु शिन्कान्सेन सेवा हाल नियमित रूपमा सञ्चालन हुने तालिका रहेको छ, तर मौसमको अवस्था अनुसार परिवर्तन हुन सक्ने बताइएको छ । साथै, टोकियो महानगर क्षेत्रका अन्य रेल सेवामा पनि बुधबार बिहानदेखि रातिसम्म असर पर्ने सम्भावना व्यक्त गरिएको छ ।


जापानमा रहेका नेपाली समुदायलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, अनावश्यक यात्रा नगर्न तथा आपतकालीन अवस्थाका लागि आवश्यक तयारी राख्न हामी आग्रह गर्दछौं ।