टोकियो, जापान ।
जापानमा यस वर्षको छैटौँ टाइफुन ‘जाङ्मी’ को प्रभावका कारण पश्चिमी तथा पूर्वी जापानका प्रशान्त महासागर आसपासका क्षेत्रहरूमा यस साताभरि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जापान मौसम विज्ञान एजेन्सीले आइतबार चेतावनी जारी गर्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।
एजेन्सीका अनुसार क्युशु क्षेत्रदेखि टोकियो समावेश रहेको कान्तो क्षेत्रसम्म बुधबारसम्म चेतावनी स्तरको भारी वर्षा हुन सक्ने सम्भावना छ । साथै तीव्र हावा, समुद्री छालको उचाइ बढ्ने अवस्था, पहिरो, नदीमा बाढी आउने जोखिमप्रति पनि सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसम विभागका अनुसार यस वर्षको छैटौँ ताइफु सोमबार दक्षिणी जापानको ओकिनावा तथा अमामी टापु नजिक पुगेको छ । त्यसपछि पूर्वतर्फ मार्ग परिवर्तन गर्दै बुधबार पश्चिमी तथा पूर्वी जापानतर्फ अघि बढ्ने अनुमान गरिएको छ । जापान प्रवेश गर्दा यसको शक्ति केही कमजोर भए पनि वर्षाको प्रभाव भने व्यापक हुन सक्ने बताइएको छ ।
ताइफुको उत्तरतर्फ मौसमीय मोर्चा ९फ्रन्ट० स्थिर रहेकाले ताइफु प्रत्यक्ष पुग्नुअघि नै केही क्षेत्रमा वर्षा सुरु हुन सक्ने मौसमविद्हरूले जनाएका छन्। लगातार लामो समयसम्म पानी पर्ने सम्भावनाका कारण कुल वर्षाको मात्रा अत्यधिक हुन सक्ने चेतावनी दिइएको छ। केही क्षेत्रमा २०० देखि ३०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान छ।
ताइफुको असरलाई ध्यानमा राख्दै जापानका प्रमुख वायुसेवा कम्पनीहरू जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले ओकिनावाबाट आउने तथा जाने विभिन्न उडानहरू रद्द गर्न थालेका छन् । सोमबार बिहानैबाट ओकिनावा हुँदै हंगकगं लगायत क्षेत्रमा हुने अन्तर्राष्ट्रिय उडानहरु समेत रद्द भएका छन् ।
मौसम विभागका अनुसार सोमबार दिउँसोसम्मको २४ घण्टामा ओकिनावामा १०० मिलिमिटर तथा अमामी र दक्षिणी क्युशुमा ८० मिलिमिटर वर्षा हुन सक्छ। मंगलबार दिउँसोसम्म ओकिनावा, अमामी तथा दक्षिणी क्युशुमा ३०० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ।
त्यसैगरी बुधबार दिउँसोसम्म पश्चिमी जापानका शिकोकु तथा कान्साई क्षेत्रमा ३०० मिलिमिटर र मध्य जापानको तोकाइ तथा कान्तो क्षेत्रमा करिब २०० मिलिमिटर वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।
आइतबार रातिसम्म ताइफु ओकिनावाको दक्षिणी समुद्री क्षेत्रमा प्रतिघण्टा २० किलोमिटरको गतिमा उत्तरतर्फ अघि बढिरहेको थियो। यसको केन्द्रिय वायुदाब ९७५ हेक्टोपास्कल मापन गरिएको छ भने अधिकतम हावाको गति प्रतिघण्टा १०८ किलोमिटर र झोक्कासहितको अधिकतम गति १६२ किलोमिटर प्रतिघण्टासम्म पुगेको छ।
अधिकारीहरूले विशेषगरी तटीय क्षेत्र, पहाडी भूभाग तथा नदी आसपास बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचना निरन्तर हेर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।