(Japan) 27 th March | 2026 | Friday | 5:26:50 PM || (Nepal) 2:11:50 PM
 
 


जापानभर कठ्याँग्रिदो जाडो : टोकियो सहित पूर्वी र पश्चिम जापानमा भारी हिमपात सम्भावना

  POSTED ON : Friday, 02 January, 2026 | Views : 684

जापानभर कठ्याँग्रिदो जाडो : टोकियो सहित पूर्वी र पश्चिम जापानमा भारी हिमपात सम्भावना


टोकियो, जापान ।

नयाँ बर्ष २०२६ को सुरुवातसँगै जापानभर कठ्याँग्रिदो जाडो बढेको छ । जापान मौषम विज्ञान एजेन्सीले राजधानी टोकियो सहित पूर्वी र पश्चिम जापानमा शनिवारबाट भारी हिमपात हुने बताएको छ ।

जापान मौषम विज्ञान एजेन्सीका अनुसार टोकियो र आसपासका क्षेत्रमा जनवरी २ तारिख रात अबेरपछि हिमपात र वर्षा हुने सम्भावना छ । मौषम अधिकारीहरुले तामा क्षेत्रका पहाडी भेगमा भारी हिमपात हुने पूर्वानुमान गरेका छन् ।

टोकियोका मुख्य २३ वडाहरूमा पनि करिब १ सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने छ । हिउँ र सडकमा जम्ने बरफले गर्दा सवारी आवागमनमा अवरोध आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । इजु टापु समूहमा भने चट्याङ, असिना र हावाहुरी आउन सक्ने सम्भावना रहेकाले सुरक्षित रहन भनिएको छ। 

शुक्रबार बिहान ५ बजेसम्म जम्मा भएको हिमपात आओमोरी प्रान्तको सुकायु क्षेत्रमा २.६६ मिटर र यामागाता प्रान्तको ओकुरा गाउँको हिजियोरी जिल्लामा १.३८ मिटर पुगेको थियो।

शनिबार बिहानदेखि २४ घण्टाको अवधिमा पहाडी क्षेत्रहरूमा हिमाली क्षेत्रमा ७० सेन्टिमिटर, होकुरिकु र किन्की क्षेत्रमा ६० सेन्टिमिटर, चुगोकु क्षेत्रमा ५० सेन्टिमिटर, कान्तो कोशिन क्षेत्रमा ४० सेन्टिमिटर र शिकोकु क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ पर्ने अनुमान गरिएको छ ।

मौसम अधिकारीहरूले टोकियोका २३ वडाहरू सहित कान्टो क्षेत्रको दक्षिणी भागका समतल भूभागहरूमा शनिबारसम्म हल्का हिउँ जम्न सक्ने बताएका छन्।

उनीहरूले जम्मा भएको हिउँ र हिउँ पर्ने सडकहरूले यातायातलाई असर पार्न सक्ने चेतावनी दिएका छन् । हिमपहिरो, हिउँका कारण हुने विद्युत आपूर्ति बन्द हुने, साथै चट्याङ र आँधीबेहरी लगायतका हावा चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन मानिसहरूलाई आह्वान गरिएको छ ।

यात्रुहरूले यात्रा गर्नुअघि पछिल्लो मौसमी विवरण बुझ्नु पर्ने देखिन्छ ।