टोकियो, जापान ।
जापानमा यहि जुलाई ५ तारिख शनिवार शक्तिशालि भूकम्प जाने भन्ने एक अनुमान हल्लाको भरमा यहाँको पर्यटन क्षेत्र असर र नागरिक बिचमा समेत भ्रम पैदा भइरहँदा जापानको एउटा टापुमा दुई हप्ताको बिचमा दुई हजार भन्दा बढि पटक भूकम्प गएको छ ।
दक्षिणपश्चिमी जापानको खागोशिमा प्रान्तमा रहेको तोकारा टापुहरूमा साना भूकम्पहरु हरेक घण्टा जसो गइरहँदा ६ म्याग्निच्युड मूनिका केहि शक्तिशाली भूकम्पहरु समेत गएका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार ५ म्याग्निच्युड माथिका करिव आधा दर्जन भूकम्प गएको छ ।
तोशिमा गाउँ कार्यालयका अनुसार भूकम्प जाँदा प्रभावित टापुहरूमध्ये एक अकुसेकीमा रहेका बासिन्दाहरू सहित ७६ जना सुरक्षित रहेको पुष्टि भएको छ र कुनै पनि चोटपटकको घटना बाहिरिएको छैन ।
जापान सरकारले टोकियोस्थित प्रधानमन्त्री कार्यालयमा ठूलो भूकम्प भएमा तत्काल उद्दारको लागि एक कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शिगेरु इशिबाले सम्भावित क्षति बुझ्न र आवश्यकता अनुसार आपतकालीन प्रतिक्रिया उपायहरूमा ध्यान केन्द्रित गर्न सम्बन्धित सरकारी निकायहरू र मन्त्रालयहरूलाई निर्देशन दिएका छन् ।