टोकियो, जापान ।
मौसम अधिकारीहरूले जापानको धेरै क्षेत्रहरूमा, विशेष गरी जापानको समुद्री तटमा भारी हिमपात हुने पूर्वानुमान गरेका छन्।
मौसम विज्ञान एजेन्सीले जाडोको चापको ढाँचा र बलियो चिसो हावाको भारका कारण जापानको समुद्री तटमा रहेका पहाडी क्षेत्रहरूमा बिपदको अवस्था निम्त्याउनेगरि भारती हिमपात हुने चेतावनी दिएका छन् । जुन क्षेत्रहरुमा हप्ता दिन यता हिउँ परिरहेको बताएको छ ।
बिहीबार बिहान ४ बजेदेखि २४ घण्टासम्म, गिफु प्रिफेक्चरको शिराकावा गाउँमा ५३ सेन्टिमिटर हिउँ परेको छ । फुकुशिमा प्रिफेक्चरको निशियाइजु टाउनमा ४८ सेन्टिमिटर हिउँ परेको छ र निगाता प्रिफेक्चरको उओनुमा शहरको सुमोन जिल्लामा ४७ सेन्टिमिटर रेकर्ड गरिएको छ ।
एजेन्सीले शुक्रबारसम्म मुख्यतया उत्तरी देखि पश्चिमी जापानको समतल क्षेत्रहरू सहित जापानको समुद्री किनारमा भारी हिउँ पर्ने पूर्वानुमान गरेको छ।
शुक्रबार बिहानसम्म २४ घण्टासम्म, निगाता प्रिफेक्चरमा ८० सेन्टिमिटरसम्म, तोहोकु र होकुरिकु क्षेत्रहरू र गिफु प्रिफेक्चरमा ७० सेन्टिमिटर, होक्काइदो र चुगोकु क्षेत्रमा ६० सेन्टिमिटर, किन्की क्षेत्रमा ५० सेन्टिमिटर, नागानो र यामागुची प्रान्तमा ४० सेन्टिमिटर, र कान्तो क्षेत्रको उत्तरी भागमा ३० सेन्टिमिटरसम्म हिउँ जम्ने पूर्वानुमान छ ।
अधिकारीहरूले सामान्यतया धेरै हिउँ नपर्ने क्षेत्रहरूमा पनि हिउँ जम्मा हुने बताएका छन्। शुक्रबार बिहानसम्म २४ घण्टामा शिकोकुमा ३० सेन्टिमिटर र उत्तरी क्युशुमा १० सेन्टिमिटरसम्म हिउँ पर्ने अनुमान गरिएको छ।
अधिकारीहरूले हिउँ जम्मा हुने र हिमपातका कारण हुने यातायात अवरोधका लागि मानिसहरूलाई सतर्क रहन आह्वान गरिरहेका छन् । उनीहरूले छतबाट हिउँ खस्ने, हिमपहिरो जाने र बिजुलीका तार र रूखहरूमा हिउँ जम्मा हुने कारणले बिजुली अवरुद्ध हुने चेतावनी दिइरहेका छन् ।
हिमपात हुने क्षेत्रमा बाहिरि यात्रामा पैदल वा सवारी यात्रामा निक्लंदा एक भन्दा बढि व्यक्ति साथमा र हिउँमा सुरक्षा दिने पहिरन वा सामग्री लिएर मात्र निक्लन अधिकारीहरुले सुझाव दिएका छन् । भारी हिमपात हुने चेतावनी जारी भएको समयमा अत्यावश्यक बाहेक बाहिरि यात्रामा ननिस्कन समेत अनुरोध गरिएको छ ।
यसैबिच टोकियो आसपासका पहाडि क्षेत्रमा गत साताबाट नै सामान्य हिमपात सुरु भएपनि मध्य टोकियो तथा कान्तो कोशिन क्षेत्रमा भने अझै हप्तादिन हिउँ पर्ने सम्भावना देखिएको छैन ।
जापान मौषम विज्ञान एजेन्सीको हप्तादिनको मौषम पूर्वानुमान अनुसार मध्य टोकियो क्षेत्रमा तापक्रम न्यूनतम ५ डिग्रिसम्म झर्नसक्ने भएपनि हिउँ पर्ने सम्भावना भने अझै हप्तादिन मित्र देखिएको छैन ।