(Japan) 12 th October | 2025 | Sunday | 10:28:52 AM || (Nepal) 7:13:52 AM
 
 

मध्यम स्कोरमा पनि नेपालको उत्कृष्ठ जित, मेलबर्न रेनेगेड्स ३३ रनले पराजित

  POSTED ON : Thursday, 21 August, 2025 | Views : 398

मध्यम स्कोरमा पनि नेपालको उत्कृष्ठ जित, मेलबर्न रेनेगेड्स ३३ रनले पराजित


टोकियो, जापान ।

नेपालले १३९ रनको मध्यम स्कोर बनाएरपनि अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा आफ्नो दोस्रो जित दर्ता गराउन सफल भएको छ । नेपालले आफ्नो पाँचौं खेलमा दोस्रो जित निकाल्ने क्रममा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्यो । मेलबर्नका अर्जुन नायरले सबैभन्दा धेरै २६ रन बनाए । नेपालका सोमपाल कामीले ५, कुशल भुर्तेलले २ तथा शाहब आलम र रूपेश सिंहले १र१ विकेट लिए ।

यसअघि पार्मस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । नेपालका कुशल मल्लले २९, कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४ रन बनाए । मेलबर्न रेनेगेड्सका फर्गस ओ’निल, कलुम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले २र२ विकेट लिए ।

शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । शुरूका लगातार ३ खेलमा हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्सलाई हराएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ वटा खेल खेल्नेछन् । प्रतियोगिता अन्तर्गत नेपालले पर्सि शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

टप इन्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।