टोकियो, जापान ।
दोलखा समाज जापानको आयोजनामा अक्षयकोष सहयोगार्थ ‘नेपाली नयाँ वर्ष शुभकामना साँझ २०८३’ कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम आगामी ५ अप्रिल २०२६ आइतबारका दिन कोसेली रेस्टुरेन्ट, कानागावा योकोहामामा सम्पन्न हुने जनाइएको छ।
समाजले नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागेको उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायक सूर्य खड्का र गायिका ज्योति लोहोनीको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।
समाजका अध्यक्ष संजिव पोखरेलका अनुसार कार्यक्रम मार्फत अक्षयकोषका लागि सहयोग संकलन गर्नुका साथै जापानमा रहेका नेपालीबीच आपसी सद्भाव, सांस्कृतिक आदान–प्रदान र एकता सुदृढ गर्ने उद्देश्य रहेको छ।
कार्यक्रममा स्थानीय नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
साथै आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्न तथा अक्षयकोष सहयोग अभियानमा साथ दिनका लागि समाजका महासचिव अनुप खडकाले आग्रह गरेका छन।