टोकियो, जापान ।
गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समव्यय परिषद (आईसिसि)को आगामी फेब्रुअरी २३ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनमा अध्यक्ष पदका लागि जापानबाट रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनए आईसिसिका उपाध्यक्ष समेत रहेका शेरचनले सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी अधिवेशनमा आफु अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । यसका साथै शेरचनले भौतिक निर्वाचन नै एनआरएनएको एकता र विश्वसनीयताको आधार भएको भन्दै अनलाईन निर्वाचनले संस्थामा अविस्वास र विवाद मात्र बढाएकाले प्रत्यक्ष विर्नाचन गराउन माग गरेका छन् ।
भौतिक निर्वाचन नगराउँदा विगतमा अपनाइएको डिजिटल तथा अनलाइन भोटिङ प्रणालीले एनआरएनएलाई एकताबद्ध गर्नुभन्दा विभाजनतर्फ धकेलेको जिकिर गर्दै शेरचनले भौतिक मतदान हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
भौतिक रूपमा मतदान हुँदा निर्णय प्रक्रियामा पारदर्शिता कायम हुने, मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवाद बढ्ने तथा आर्थिक गतिविधि समेत चलायमान हुने भन्दै शेरचनले भनेका छन् भौतिक निर्वाचन नै एनआरएनएको एकता र विश्वसनीयताको आधार हो
यस्तो छ रोविन शेरचनको एनआरएनए आईसीसी अध्यक्षमा उम्मेदवारी घोषणा वक्तव्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वभर छरिएका नेपालीहरूको साझा संस्था हो। यस संस्थाको शक्ति यसको एकता, पारदर्शिता र आपसी विश्वासमा निहित छ। यही सन्दर्भमा, आगामी फेब्रुअरी २३ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने एनआरएनए आईसीसीको बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन हाम्रो संगठनको भविष्य तय गर्ने अत्यन्तै महत्वपूर्ण अवसर हो।
मेरो स्पष्ट धारणा छ— यसपटकको निर्वाचन प्रक्रिया कुनै पनि हालतमा भौतिक रूपमा नै सम्पन्न हुनुपर्छ।
यो आग्रह भावनामा होइन, विगतका अनुभव र सिकाइमा आधारित जिम्मेवार निष्कर्ष हो।
अनलाइन निर्वाचन : अनुभवले असफल ठहर भइसकेको अभ्यास
हामी सबै साक्षी छौं कि विगतमा अपनाइएको डिजिटल तथा अनलाइन भोटिङ प्रणालीले एनआरएनएलाई एकताबद्ध गर्नुभन्दा विभाजनतर्फ धकेल्यो।
मतदाता पहिचान, प्रणालीको विश्वसनीयता, पारदर्शिता र नतिजाको स्वीकार्यतामाथि प्रश्न उठ्दा संघभित्र अविश्वास बढ्यो र समानान्तर संरचनासमेत देखिए।
त्यसैले अब फेरि त्यही अभ्यास दोहोर्याउनु एनआरएनएको संस्थागत भविष्यप्रति गैरजिम्मेवार कदम हुनेछ भन्ने मेरो दृढ विश्वास छ।
भौतिक निर्वाचन : पारदर्शिता, सहभागिता र भरोसाको बाटो
भौतिक रूपमा आयोजना हुने महाधिवेशन र निर्वाचनले
— निर्णय प्रक्रियामा पारदर्शिता ल्याउँछ,
— मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवाद सम्भव बनाउँछ,
— आर्थिक गतिविधिलाई चलायमान बनाउँछ,
— र सबैभन्दा महत्वपूर्ण, विश्वभर छरिएका नेपालीहरूबीच भावनात्मक एकता र आपसी विश्वास मजबुत बनाउँछ।
एनआरएनए केवल एउटा संस्था होइन, यो सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा भावना र पहिचान हो। यस्तो संस्थाको नेतृत्व चयन प्रक्रिया सबैले गर्वका साथ स्वीकार गर्न सक्ने हुनुपर्छ।
“एक पटक नेपाल जाऔं” — जिम्मेवारी र अवसर
म विश्वभर रहनु भएका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई “एक पटक नेपाल जाऔं” भन्ने हार्दिक आह्वान गर्न चाहन्छु।
यो महाधिवेशन केवल पद र जिम्मेवारीको विषय होइन, एनआरएनएको भावी दिशा, गरिमा र विश्वसनीयता पुनःस्थापित गर्ने ऐतिहासिक अवसर हो।
सबै सचेत बनौं, साझा निर्णयमा पुगौं
अब हामी सबै सचेत हुनुपर्छ।
खुला रूपमा विचार राख्नुपर्छ, नियमको सूक्ष्म पालना गर्नुपर्छ र विगतका कमजोरी दोहोरिन नदिन साझा जिम्मेवारी वहन गर्नुपर्छ।
एकताबद्ध, सर्वस्वीकार्य र विश्वासयोग्य निर्णयमा पुग्नु नै यस महाधिवेशनको मूल उद्देश्य हुनुपर्छ।
अन्त्यमा, एनआरएनए आईसीसीको यो बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनलाई एकता, पारदर्शिता र भरोसाको नयाँ अध्याय बनाउने जिम्मेवारी हामी सबै गैरआवासीय नेपालीहरूको काँधमा छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।
— रोविन शेरचन
(उपाध्यक्ष, एनआरएनए आईसीसी तथा अध्यक्ष पदका आकांक्षी)