टोकियो, जापान ।
जापानमा रहेका कस्केलीहरूको साझा संस्था कास्की पोखरा समाज, जापान ले आफ्नो प्रथम बोनेनकाई कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न गरेको छ।
“बोनेनकाई विशेष साँझ : कस्केलीहरूको मिलन” शीर्षकमा आयोजित उक्त कार्यक्रम डिसेम्बर २८, २०२५ का दिन टोकियोको सिन्जुकुस्थित काठमाडौं लाउन्ज एन्ड बारमा सम्पन्न भएको हो ।
कार्यक्रममा कास्की–पोखरासँग आत्मीय सम्बन्ध राख्ने कस्केली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै जापानी समुदायका व्यक्तिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।
विशेषगरी कोमागानेमा रहेको जापान लाइब्रेरी जापानका फाउन्डर डा. इतो युकी तथा कोमागाने सिटिजन एक्सचेन्जका प्रेसिडेन्ट किताहारा तेरुमी को समेत उपस्थिति रहेको थियो। आपसी भेटघाट, माया–ममता तथा सद्भाव साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आत्मीय, सौहार्दपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रमको सुरुवातमा उपाध्यक्ष सरोज कार्कीले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथिहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो।
कार्यक्रमबारे धारणा राख्दै युवा संयोजक सुमन कुवरले कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको उल्लेख गर्दै सधैं कस्केलीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको समापन समारोहमा संस्थाका अध्यक्ष कमल बास्तोलाले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि आपसी सहकार्य र एकताको निरन्तरताका लागि अनुरोध गर्नुभयो।
कार्यक्रमसम्बन्धी जानकारी महासचिव जीवन पोखरेल कञ्चनले प्रदान गर्नुभएको हो। साथै उहाँले जापानमा रहेका विभिन्न नेपाली समाजहरूमध्ये कास्की पोखरा समाजले पृथक पहिचानसहितका कार्यक्रमहरू गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिनुभयो।
कास्की पोखरा समाज, जापानले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।