(Japan) 19 th October | 2025 | Sunday | 7:57:09 AM || (Nepal) 4:42:09 AM
 
 

'प्रतिस्पर्धी र आफ्नो काम मूल्यांकन गरेर मत दिन' भनेका सिद्धार्थ श्रेष्ठको घोषणा पत्रमा के छ ?

फिजा जापान   POSTED ON : Thursday, 17 July, 2025 | Views : 528

'प्रतिस्पर्धी र आफ्नो काम मूल्यांकन गरेर मत दिन' भनेका सिद्धार्थ श्रेष्ठको घोषणा पत्रमा के छ ?


टोकियो, जापान ।

आफ्नो घोषणापत्रमै आफुलाई जसरी पनि भोट दिन आग्रह नगरि आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरुसँग विगतको काम, व्यवहार र जिम्मेवारी मूल्यांकन गरेर वैचारिक निर्णय गर्न आव्हान सहित सिद्धार्थ श्रेष्ठले गैर आवासिय नेपाली संघ जापानको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

जुलाई १६ तारिख उम्मेदवारी समेत दर्ता गराएका श्रेष्ठले एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी दिनुको कारणमा संस्थालाई सशक्त र प्रभावकारी बनाउने दाबी घोषणा पत्रमा समेटेका छन् ।

२३ बुँदा समेटिएपनि कयौं विषयलाई दोहोर्याएर थपथाप गरिएको आफ्नो दुई वर्षे कार्यकालको योजना र प्राथमिकतागत क्षेत्रलाई समेटेका श्रेष्ठले एनआरएनए जापानका क्रियाकलापहरुलाई थप पारदर्शि बनाउने प्रतिवद्धता पहिलो बुँदामा समेटेका छन् ।

विगतमा भएका संस्थाको आर्थिक अपारदर्शिताको मुख्य मुद्दालाई समात्ने प्रमुख व्यक्तिको हैसियतले पनि होला श्रेष्ठले मासिक रुपमा अद्यावधिक र त्रैमासिक रुपमा सार्वजनिक गर्ने बताएका छन् । जुन काम अघिल्लो एनआरएनए नेतृत्वले गरेको भएपनि वर्तमान कार्यसमितिले प्रभावकारी रुपमा गर्न नसकिरहेको गुनासो आम रुपमा हुँदै आएको छ ।

नेपालमा लगानीको विषयलाई प्राथमिकतामा राख्ने, अन्य संघसंस्थासँगको सहकार्यलाई बढाउने प्रतिबद्धता जनाएका सिद्धार्थ श्रेष्ठले कोषको सहि परिचालन एवं भाषा, कला, साहित्य, संस्कृति, खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका साथ प्रयोजनमा ल्याउने घोषणा पत्रमा लेखेका छन् ।

जुलाई १२ तारिख नै टोकियोमा करिव ४ सय एनआरएनए अभियन्ता, अग्रज तथा संस्थाप्रति चासो राख्ने र शुभेच्छुकहरुले भरिएको सभाहलमा घोषणा पत्र पढेरै सुनाएका श्रेष्ठले वर्तमान कार्यसमितिले सुरुवात गरेको नेपाल हाउस निर्माणलाई पूर्णता दिने साथै धर्म गुरुहरुलाई आमन्त्रण गरि लगानी समेत जुटाउने योजना अघि सारेका छन् ।

नेपाली वस्तुहरुको ब्राण्डिगं र बजारीकरणमा पहल, मासिक १ लाख भन्दा बढि आपतकालिन राहत कोष संकलन, कामदारहरुका समस्या तत्काल बुझ्न र समाधान गर्न सुरक्षित रोजगार निगरानी समिति गठन गर्ने महत्वाकांक्षि योजना श्रेष्ठको घोषणा पत्रमा समेटिएको छ । तर दक्ष कामदार कुक पेशाबाटै व्यवसाय थालेका श्रेष्ठले सँधै पिडामा पिल्सिएका उनिहरुको विषयलाई सम्बोधन गर्दै एक लाईन पनि स्ष्ट रुपमा खर्च नगर्नु उदेक लाग्दो विषय देखिन्छ । यद्यपी कुक पेशामा रहेका कामदारहरुले भोगिरहेका समस्या समाधानमा श्रेष्ठले अग्रसरता दिंदै आएको विषयलाई भने यहाँ नजरअन्दाज लगाउन मिल्दैन ।

साप्ताहिक परामर्श सेवा अन्तर्गत भिसा, रोजगार, स्वास्थ्य र शिक्षामा काम गर्ने योजना अघि सारेका श्रेष्ठले वक्तृत्वकला, नृत्य, खेलकुद, हाजिरिजवाफ लगायत अतिरिक्त गतिविधि गरि जापानमा रहेका नेपाली विद्याथीहरुलाई प्रोत्साहन गर्न काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आईएचएनओले दिंदै आएको तर रोकिएको छात्रवृत्ति सुरुवातमा पहल गर्ने उल्लेख त गरेका छन् तर के कारण रोकिन पुगेको हो खुलाएका छैनन् । एनआरएनएसँग जोडिन नसकेका विभिन्न पेशा र क्षेत्रका प्रवुद्ध व्यक्तिहरुलाई जोड्न सोहि अनुसार कार्यक्रम ल्याउने देखि जापानमा नेपालीहरुले संचालन गरिरहेका व्यवसायलाई प्रवद्र्धनका लागि काम गर्ने लक्ष्य आफ्नो रहेको श्रेष्ठ बताउँछन् ।

नेपाल एयरलाईन्सले चाडबाड सहित अन्य मुख्य सिजनमै चर्को भाडा तोक्ने गरेको भन्दै त्यसलाई न्यून गराउन पहल गर्ने देखि नेपाल सरकारकै परराष्ट्रमन्त्रीबाट कुखुराको खोर जत्रो दूतावासको उपमा पाएको जापानको राजदूतावासको साँघुरो भवन अन्यत्र स्थानान्तरणका लागि सहकार्य र आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका सिद्धार्थ श्रेष्ठले नेपाल फेस्टिवललाई थप क्षेत्रहरुमा विस्तार गर्न काम गर्ने उल्लेख गरेका छन् ।

एनआरएनएमा लागेकाहरुनै अवैध हुण्डी कारोवारमा लाग्नेगरेको आरोप लागिरहँदा उनले जापानबाट नेपाल पठाइने रेमिट्यान्समा प्रोत्साहन, महिला सहभागितामा जोड, संस्थाको नीति कार्यक्रमहरु कार्यान्वयनमा जोडका विषयलाई समेटेका छन् । श्रेष्ठ भन्छन् म प्रवक्ता, महासचिव हुँदै उपाध्यक्ष हुँदा गरेका दूतावासँगको सहकार्यमा भएका घुम्ति सेवा सहित रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, विद्यार्थी सेमिनार, फुटसल प्रतियोगिता सहित एनआरएनए दिवसलाई थप प्रभावकारि बनाएर अघि लैजानेछु ।

आफुले हालसम्म निर्वाह गरेको भूमिका र लिएको भिजनले भावी नेतृत्वका लागि लायक ठहर गरेको दाबी गरेका श्रेष्ठ नेपाल र नेपालीलाई मात्र नभई जापान र यहाँ रहेका नेपालीहरुको समस्यालाई नजिकबाट बुझेको कारण त्यसलाई मसाधान गर्न पनि आफु नेतृत्वमा आउन आवश्यक रहेको जिकिर गर्छन् ।

जापानका पाका नेपाली पुस्ताको आशिर्वाद, युवा पुस्तासँग जोडिएको नेतृत्वकर्ताको हिसाबले सबै पुस्ताका नेपालीहरुको सहि अर्थमा प्रतिनिधित्व गर्न सक्षम रहेको सिद्धार्थ श्रेष्ठको दाबी छ ।

आफुलाई ईमान्दार, कर्तव्यनिष्ठ सेवकका रुपमा प्रस्तुत गरेका सिद्धार्थ श्रेष्ठ जापानका अग्रज, बौद्धिक तथा व्यावसायिक व्यक्तित्वहरुको सल्लाह र सुझावलाई शिरोपर गर्दै अघि बढ्ने बताउँछन् ।

जापानमा आपत, विपतमा परेका नेपालीहरुको सहयोगमा अग्रसर देखिँदै आएका श्रेष्ठ अहिले आफु चुनावी मैदानमा होमिएपछि जापानवासी नेपालीहरुबाट जुलाई २७ तारिख हुने चुनावमा भोट गरिदिन भन्दै साथ र सहयोग मागिरहेका देखिन्छन् । तर आसन्न निर्वाचनको जनमतलाई विगतको चुनावी चलखेलसँग दाँजेर हेर्दा उम्मेदवारका कामले मात्र नभई कुल मतदाता संख्याको करिव एक तीहाई मत भोट बैंकका रुपमा देखिएका राजनीतिक दल, संघसंस्था, जातिगत तथा क्षेत्रिय समुह र केहि सिमित व्यक्तिहरुबाट प्रभावित हुन सक्ने देखिन्छ । यस्तोमा कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको चुनावमा श्रेष्ठको विगत र वर्तमानको काम र प्रतिवद्धता जनमतमा कसरी झल्किन्छ भनिहाल्न सकिने अवस्था छैन ।

(FIJA अन्तराष्ट्रिय पत्रकार महासंघ (जापान शाखा)द्धारा तयार समाचार सामग्री )