(Japan) 8 th July | 2026 | Wednesday | 8:23:56 PM || (Nepal) 5:08:56 PM
 
 

ट्रम्पद्धारा इरानसँगको युद्धविराम ‘समाप्त’ भएको घोषणा, मध्यपूर्व विवादले जापानमा तनाव

  POSTED ON : Thursday, 09 July, 2026 | Views : 140

ट्रम्पद्धारा इरानसँगको युद्धविराम ‘समाप्त’ भएको घोषणा, मध्यपूर्व विवादले जापानमा तनाव


टोकियो, जापान ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको समझदारी अब ूसमाप्त भएकोू घोषणा गरेका छन् । अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा मध्यपूर्वभर एकअर्कामाथि भएका सैन्य आक्रमणपछि ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।

टर्कीमा आयोजित नेटो समिटमा बोल्दै ट्रम्पले इरानसँगको वार्ता 'समयको बर्बादी' भएको टिप्पणी गर्दै भने, 'यदि वार्ता गर्न चाहन्छन् भने वार्ताकारहरूले गरिरहून्, तर मलाई लाग्छ यो अब कुनै अर्थ राख्दैन ।'

ट्रम्पको यो अभिव्यक्तिलाई अमेरिका–इरानबीच करिब तीन साताअघि भएको प्रारम्भिक समझदारी लगभग विफल भएको संकेतका रूपमा हेरिएको छ ।


अमेरिका–इरानबीच फेरि सैन्य तनाव

अमेरिकी अधिकारीहरूका अनुसार होर्मुज जलडमरूमध्य नजिक व्यापारी जहाजहरूमा भएका आक्रमणको ूसजायूस्वरूप भन्दै अमेरिकाले इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गर्नुका साथै इरानी तेल बिक्रीमाथि पुनः कडा प्रतिबन्ध लगाएको छ ।

त्यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा मिसाइल आक्रमण गरेको जनाएको छख। इरानी सेनाले अमेरिकी सेना रहेको बहराइनको एक हवाई अड्डालाई समेत निशाना बनाएको दाबी गरेको छ ।

लगातारको प्रतिआक्रमणपछि विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ ।


आणविक सम्झौताको भविष्य अन्योलमा

ट्रम्प प्रशासनले उपराष्ट्रपति जेडि भान्सको नेतृत्वमा इरानको आणविक कार्यक्रम सीमित गर्ने उद्देश्यसहित ६० दिनभित्र विस्तृत सम्झौता गर्ने प्रयास गरिरहेको थियो । तर पछिल्ला घटनाक्रमले ती वार्ता लगभग ठप्प हुने अवस्था सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ ।

यसअघि जुन १७ मा भएको प्रारम्भिक समझदारीमा इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बिक्री गर्ने केही सुविधा दिइएको थियो । तर अमेरिकाले अहिले त्यो व्यवस्था पनि फिर्ता लिइसकेको छ ।


पाकिस्तान र कतारको मध्यस्थता संकटमा

समझदारी गराउन मुख्य भूमिका खेलेका कतार र पाकिस्तानले पुनः दुवै पक्षलाई वार्तामा फर्काउने प्रयास गर्ने अपेक्षा गरिएको छ । यद्यपि ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि कूटनीतिक प्रयास थप कठिन बन्न सक्ने देखिएको छ ।

यसबीच बेन्जामिन नेतान्याहू नेतृत्वको इजरायल सरकारले पनि ट्रम्पको अभिव्यक्तिलाई इरान तथा लेबनानस्थित हेजबुल्लाहविरुद्ध थप सैन्य कारबाही अघि बढाउने अवसरका रूपमा लिन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।


जापानमा पर्ने असर एवं ऊर्जा मूल्यदेखि नेपाली समुदायसम्म प्रभाव


यो तनाव जापानका लागि विशेष चिन्ताको विषय बनेको छ । जापानले उपभोग गर्ने कच्चा तेलको अधिकांश हिस्सा मध्यपूर्वबाट आयात गर्ने भएकाले होर्मुज जलडमरूमध्यमा कुनै पनि अस्थिरताले जापानको ऊर्जा आपूर्ति र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्छ ।

तेलको मूल्य बढेसँगै जापानमा पेट्रोल, डिजेल, ग्यास, विद्युत् र ढुवानी खर्च महँगिने सम्भावना बढेको छ । यसले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढाउन सक्ने अर्थशास्त्रीहरूको चेतावनी छ ।

जापानमा बसोबास गर्ने नेपालीहरूका लागि पनि यसको प्रभाव देखिन सक्छ । इन्धन तथा यातायात खर्च बढेमा दैनिक जीवनयापन महँगिने, खाद्यान्नको मूल्य वृद्धि हुने र व्यवसाय सञ्चालन लागत बढ्ने सम्भावना रहेको छ । 

साथै मध्यपूर्वको अस्थिरताले अन्तर्राष्ट्रिय हवाई मार्ग र विश्व व्यापारमा समेत असर पारे जापान आउने–जाने उडान तथा आयात–निर्यात क्षेत्रमा थप दबाब पर्न सक्ने अनुमान गरिएको छ ।

अहिलेसम्म जापान सरकारले आफ्ना नागरिक र मध्यपूर्वमा रहेका जापानी जहाजहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । हालै मात्र जापानको ईन्धन बोकेका आधा दर्जन जहाँजहरु होर्मुज जलमार्गबाट जापान तर्फ आएको बताइएको छ ।