टोकियो, जापान ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सानाए ताकाइचीलाई फोन गरेर ताइवानको सार्वभौमिकताको प्रश्नमा बेइजिङलाई उक्साउने खालको अभिव्यक्ति नदिन सल्लाह दिएका छन् ।
अमेरिकी मिडिया वाल स्ट्रिट जर्नलले बुधबार जापानी अधिकारीहरूले फोनमा जानकारी दिए अनुसार ट्रम्पले जापानी प्रधानमन्त्री ताकाइचीलाई ताइवानको विषयमा चीनलाई चिढ्याउने अभिव्यक्तिमा संयमता अपनाउन सुझाव दिएका हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपतिलाई फोन गरेर प्रजातान्त्रिक स्वशासित टापुमा चीनको ऐतिहासिक दाबीका साथै विश्व व्यवस्था व्यवस्थापन गर्ने वाशिंगटन र बेइजिङको संयुक्त जिम्मेवारीको बारेमा कुरा गरेपछि ट्रम्पले ताकाइचीसँग कुरा गरेका थिए । ट्रम्पसँगको कुराकानीमा सीले ताईवान जापानको अभिन्न भुभाग भएको भन्दै यसमा हस्तक्षेप नगर्न भन्दै ट्रम्पलाई समेत चेतावनी दिएका थिए ।
ताकाइचीले ट्रम्पसँगको कुराकानीमा इन्डो–प्यासिफिक क्षेत्रका चुनौतीहरूबारे छलफल भएको बताएपनि ताइवानबारेको विस्तृत विवरण बारे मुख खोलेकी थिइनन् ।
ताकाइचीले नोभेम्बरको सुरुमा ताइवानमा काल्पनिक चिनियाँ आक्रमणले जापानी सैन्य प्रतिक्रिया निम्त्याउन सक्ने विवादास्पद अभिव्यक्ति दिएपछि चीनसँग कूटनीतिक विवाद सिर्जना गरेको छ ।
जर्नलले रिपोर्ट गरेको छ कि ट्रम्पले ताकाइचीलाई दिएको सल्लाह सूक्ष्म थियो, र उनले ताकाइचीलाई उनको टिप्पणी फिर्ता लिन दबाब भने दिएका छैनन् ।