(Japan) 17 th April | 2026 | Friday | 5:28:01 PM || (Nepal) 2:13:01 PM
 
 


इजरायलद्धारा गाजामा २४ घण्टामा कम्तिमा १२५ सर्वसाधारणको हत्या

  POSTED ON : Monday, 19 May, 2025 | Views : 986

इजरायलद्धारा गाजामा २४ घण्टामा कम्तिमा १२५ सर्वसाधारणको हत्या


एजेन्सी ।

गाजामा इजरायली सेनाले विस्थापितहरु बसेको टेन्ट र सार्वजनिक स्थानहरुमा गरेको अन्धाधुन्ध हमलामा कम्तिमा १२५ जनाको मृत्यु भएको छ । मारिनेहरुमा अधिकांश सर्वसाधारण नागरिक रहेका छन् ।

इजरायली सेना आईडिएफले शनिबार रातभर र आइतबार गरेका हमलामा गाजामा मारिनेको संख्या १२५ पार गरेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १८ जना बालबालिका र १३ जना महिला रहेका छन् । हमलामा दर्जनौँ घाइते भएका अस्पताल र चिकित्सकहरूले बताएका छन् ।

इजरायलले डेढ वर्षदेखि गाजामा नरसंहार मच्चाउँदै हमास बिरुद्ध भन्दै भौतिक संरचना ध्वस्त बनाउँदै आक्रमण चर्काएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४५ जनाभन्दा बढी मारिएका थिए । इजरायली सेनाले विस्थापित बसोवास गरिरहेका शिविर र घरलाई निसाना बनाएको थियो ।

इजरायली सेनाले उत्तरी गाजामा रहेको जबालिया शरणार्थी शिविरमा हमला गर्दा एउटै परिवारका नौजनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ । त्यस्तै, जबालियास्थित अकोए निवासमा भएको आक्रमणमा सात बालबालिकासहित १० जनाको मृत्यु भएको छ । 

इजरायली सेनाले रातभरि भएका हमला र त्यहाँ भएका गैरसैनिकको मृत्युबारे कुनै टिप्पणी गरेको छैन । तर यसअघि भएका यस्तै नरसंहारका घटनापछि इजरायली सेनाले हमास लडाकुहरु लुकेको आशंका र आक्रमणको सम्भावनाका कारण हमला गरिएको झुटो दाविहरु गर्दै आएको छ । उसले गरेका कुनैपनि दाविको हालसम्म प्रमाण पेश गर्न सकेको छैन ।

गत महिना मात्र चिकित्सक र उद्दारकर्ताहरु सवार एम्बुलेन्समा गोलाबारी गरेर १२ जनाको हत्यापछि घटना लुकाउन समेत इजरायलले यस्तै झुठो दावि गरेको थियो । तर भिडियो सहितको प्रमाण बाहिरिएपछि त्रुटि हुन पुगेको भन्दै पन्छिएको थियो ।

गाजामा डेढ वर्षको अवधिमा इजरायली सेनाले कम्तिमा ५५ हजार नागरिकको हत्या गरेको छ भने अधिकाशं भौतिक संरचना ध्वस्त बनाएको छ ।