(Japan) 17 th April | 2026 | Friday | 5:35:16 PM || (Nepal) 2:20:16 PM
 
 


गले जेलेन्स्की ! टर्कीमा पुटिनलाई भेट्ने युक्रेनी राष्ट्रपतिको चाहना

  POSTED ON : Monday, 12 May, 2025 | Views : 912

गले जेलेन्स्की ! टर्कीमा पुटिनलाई भेट्ने युक्रेनी राष्ट्रपतिको चाहना


एजेन्सी ।

युक्रेनमा जारी युद्धको बारेमा आन्तरिक राजनीतिक विवाद बढ्दो छ । रुससँगको युद्धका क्रममा थिलथिलो अवस्थामा पुगेपछि दबाव थेग्न मुश्किल अवस्थामा पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार टर्कीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहना राखेका छन् । दुई देशहरू बीच प्रत्यक्ष वार्ताको लागि पुटिनको प्रस्तावप्रति उनले यस्तो चाहना राखेका हुन् । यद्यपी पुटिनले प्रत्यक्ष वार्ता आफुले गर्ने भन्ने विषय भने खुलाएका छैनन् । उनले दुई देशका प्रतिनिधिबिच वार्ता हुनुपर्ने बताएका थिए ।

जेलेन्स्कीले सामाजिक सञ्जाल पोस्टमा सोमबारदेखि पूर्ण र दिगो युद्धविराम सुरु होस् भन्ने चाहना व्यक्त गरेका छन् । उनले भने कि हत्यालाई लम्ब्याउनुको कुनै अर्थ छैन । तर उनले यसअघिका भाषणहरुमा जस्तै रुसलाई आरोप लगाउँदै अब रूसीहरूले बहाना खोज्ने छैनन् भन्ने विश्वास लिएको बताएका छन् ।

पुटिनले प्रत्यक्ष वार्ता पुनः सुरु गर्न आवश्यक भएको भन्दै कुनै पूर्वशर्तहरू नहुने बताएका छन् ।

रूस र युक्रेन बीच युद्धविराम प्राप्त गर्ने उद्देश्यले वार्ताहरू पहिले इस्तानबुलमा भएका थिए । त्यो २०२२ को मार्चमा, मस्कोको आक्रमण सुरु भएको लगभग एक महिना पछि भएको थियो ।

पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार शान्ति सम्झौताको बारेमा टेलिफोनबाट कुरा गरेका छन् ।

एर्दोगानले उनको देश दिगो समाधानमा पुर्‍याउने वार्ताहरूको आयोजना गर्न तयार रहेको बताएका छन् । उनले व्यापक युद्धविरामले शान्ति वार्ताको लागि आवश्यक वातावरण सिर्जना गर्ने बताए ।

किभ र यसका सहयोगीहरूले मस्कोलाई ३० दिने युद्धविरामको लागि प्रतिबद्ध हुन आग्रह गरिरहेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक सञ्जाल सन्देशमा वार्ता सुरु गर्न युद्धविराम आवश्यक रहेको बताएका छन् ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले मस्कोले युद्धविराममा सहमत हुने अपेक्षा गरेको संकेत गरेका छन् । तर पुटिनले वार्ताको लागि तयार रहेको बताएपनि आफ्नो प्रस्तावमा युद्धविरामको उल्लेख गरेका छैनन् ।