(Japan) 15 th December | 2025 | Monday | 11:48:02 AM || (Nepal) 8:33:02 AM
 
 


गाजामा इजरायल हमास युद्धविराम सुरु

  POSTED ON : Monday, 20 January, 2025 | Views : 956

गाजामा इजरायल हमास युद्धविराम सुरु


एजेन्सी ।

हमासले रिहा गरिने ३ जना बन्दीको नाम मध्यस्थकर्ताहरूलाई हस्तान्तरण गरेसँगै गाजा माथि इजरायली आक्रमण रोकिएर युद्धबिराम सुरु भएको छ ।

गाजा प्रशासनले बताएको ४७ हजार र बेलायती अनुसन्धान निकायले गरेको अनुमान अनुसार इजरायली नरसंहारमा गाजामा ६५ हजार भन्दा धेरै व्यक्ति इजरायली सेनाबाट मारिएका छन् । इजरायल तर्फ १२ सय व्यक्तिको निधन भएको छ ।

टेलिग्राममा एक विज्ञप्तिमा, प्यालेस्टिनी समूहले आज रिहा गरिने गाजामा रहेका तीन बन्दीको नाम मध्यस्थकर्ताहरूलाई हस्तान्तरण गरेको जनाएको छ ।

इजरायलले आज रिहा गरिने बन्दीको सूची प्राप्त गरेको पुष्टि गरेको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले युद्धविराम सम्झौताको एक भागको रूपमा आज रिहा गरिने बन्दीको नाम सहितको सूची इजरायलले प्राप्त गरेको पुष्टि गरेको हो ।

यसले रिहा गरिने तीन महिलाको परिवारलाई सूचित गर्न थालेको जनाएको छ ।

इजरायलले गाजामा युद्धविराम बिहान ९ बजेर १५ मिनेटबाट लागू हुने बताएको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयले गाजामा हमाससँगको युद्धविराम स्थानीय समय अनुसार करिव एक घण्टाको ढिलाइ पछि सुरु हुने घोषणा गरेको हो ।

हमासले आइतबार रिहा गरिने तीन इजरायली महिला बन्दीको नाम रोमी गोनेन, डोरोन स्टेनब्रेचर र एमिली दमारी भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसअघि हमासले दर्जनौं प्यालेस्टिनी कैदीहरूको बदलामा रिहा गर्ने तयारीमा रहेका तीन बन्दीको नाम उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा नगरेको बताएका थिए ।

तर हमासले बन्दिहरु रहेको स्थान, सूचना संजाल लगायत प्राविधिक कारण बन्दिहरुको लिष्ट उपलब्ध गराउन ढिलाइ भएको बताएको थियो ।