(Japan) 17 th February | 2025 | Monday | 11:17:50 AM || (Nepal) 8:02:50 AM
 
 


उत्तर कोरियाद्वारा जापान सागर तर्फ क्षेप्यास्त्र प्रहार

  POSTED ON : Tuesday, 14 January, 2025 | Views : 360

उत्तर कोरियाद्वारा जापान सागर तर्फ क्षेप्यास्त्र प्रहार


टोकियो, जापान ।

उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । जापानी अधिकारीहरु तथा दक्षिण कोरियाको सेनाले जापानको सागर भनेर चिनिने जापानको विशेष आर्थिक क्षेत्र बाहिरको पानीमा उक्त क्षेप्यास्त्र खसेको छ ।

“उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ”, दक्षिण कोरियाको सेनाले भनेको छ । सियोलले प्रक्षेपण बारेमा तत्काल कुनै विवरण सार्वजनिक गरेको छैन ।

प्योङयाङले प्रशान्त महासागरमा देशका प्रतिद्वन्द्वीहरूलाई रोक्न लक्षित नयाँ हाइपरसोनिक मिसाइल प्रणाली प्रक्षेपण गरेको एक हप्तापछि यो प्रक्षेपण आएको हो ।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी चुनाव जितेपछि उत्तर कोरियाको यो पहिलो प्रक्षेपण थियो र यो अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन दक्षिण कोरिया भ्रमणमा रहेका बेला भएको थियो ।

अहिले जापानी बिदेशमन्त्री दक्षिण कोरिया भ्रमणमा रहेका बेलामा नयाँ क्षेप्यास्त्र प्रक्षेपण भएको हो ।

अमेरिकाको सहयोगी दक्षिण कोरिया उत्तर कोरियाको कडा प्रतिद्वन्द्वी हो, जससँग प्राविधिक रूपमा युद्ध जारी छ ।

प्योङयाङको अघिल्लो प्रक्षेपण नोभेम्बरमा भएको थियो । त्यसबेला उसले आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली ठोस–इन्धन अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) को परीक्षण गरेको थियो । यसको जवाफमा दक्षिण कोरियाले प्योङयाङले क्षेप्यास्त्र प्रक्षेपण गरेपछि शक्ति प्रदर्शन गर्दै समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

वासिङ्टनले प्योङयाङले युक्रेनमा लडाइँ गर्न आफ्नो सेना पठाउने बदलामा रुसबाट समर्थन प्राप्त गरेको आरोप लगाएको छ । तर उत्तर कोरिया वा रुसले प्योङयाङको सेनाले मस्कोका लागि लडिरहेको कुरा आधिकारिक रूपमा पुष्टि गरेका छैनन् । तर हालै युक्रेनले रुससँगको युद्धका क्रममा क्रुस्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिकलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको बताएको छ ।