काठमाडौं, नेपाल ।
नेपालमा समेत गम्भिर धक्का दिएको मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट चिनको तिब्बतमा कम्तिमा १०० जनाको निधन भएको छ ।
तिब्बतको सिगात्से सहर नजिक केन्द्र भएर मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १०० नाघेको हो । अन्य कम्तिमा १५० जना घाइते भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ अन्य हताहतीको खवर आउने क्रम जारी रहेकाले मृतक संख्या १०० नाघ्ने क्रममा छ ।
स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
स्थानीय समय अनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर छ ।
यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७।० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।