(Japan) 15 th April | 2026 | Wednesday | 5:51:09 AM || (Nepal) 2:36:09 AM
 
 


कोरियामा राष्ट्रपति युन सुक येओललाई हिरासतमा लिन खोज्दा अंगरक्षकहरुको अवरोध

  POSTED ON : Friday, 03 January, 2025 | Views : 1088

कोरियामा राष्ट्रपति युन सुक येओललाई हिरासतमा लिन खोज्दा अंगरक्षकहरुको अवरोध


टोकियो, जापान ।

अनुसन्धान निकायले दुई साता अघि दक्षिण कोरियामा असफल सैन्य शासन घोषणा गरेका राष्ट्रपति युन सुक येओललाई हिरासतमा लिने प्रयास गर्दा घण्टौंसम्म उनका सुरक्षा गार्डहरुले अवरोध जारी राखेका छन् ।

विद्रोहको आशंकामा उनलाई पक्राउ गर्नका लागि अधिकारीहरूले राष्ट्रपति युन सुक येओलको आधिकारिक आवासीय भवनमा पहुँच गर्ने प्रयास गर्दा अन्वेषकहरू र राष्ट्रपति सुरक्षा सेवाबीच शुक्रबार घण्टौंसम्म विवाद जारी रह्यो।

अन्वेषकहरू पनि राष्ट्रपतिको सुरक्षा सेवाद्वारा नियन्त्रित सशस्त्र बलहरूसँगको अवरोधमा संलग्न थिए यद्यपी यसमा सेनाले भने अवरोध गरेका छैन ।

अन्वेषकहरू राष्ट्रपतिको अंगरक्षकहरूको अन्तिम गार्ड लाइन मानिने निवास भवनमा पुग्न सफल भएका छन् तर सुरक्षा कार्यालयका प्रमुखले भवन भित्र रहेका युन सुक येओललाई खोजी गर्न अनुमति दिन अस्वीकार गरिरहेका छन् ।

बिहान करिब ८ः०३ बजे भ्रष्टाचार अनुसन्धान कार्यालयका उच्च पदस्थ अधिकारी र प्रहरीका करिब ५० जना कर्मचारी राष्ट्रपति निवास परिसरमा प्रवेश गरेका थिए ।

उनीहरूलाई सुरुमा राष्ट्रपतिका करिब २० अंगरक्षकहरूले अवरोध गरेका थिए, करिव एक घण्टासम्म चलेको अवरोधपछि अन्वेषकहरूलाई कम्पाउन्डमा प्रवेश गर्न अनुमति दिइएको थियो ।

यदि सीआईओ, प्रहरी र रक्षा मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले शुक्रबार युनलाई हिरासतमा लिन सफल भयो भने, उनीहरूलाई सोधपुछ गर्न ४८ घण्टाको समय दिइनेछ । 

लामो समयसम्म हिरासतमा राख्न, उनीहरूले नयाँ वारेन्टको लागि आवेदन दिन आवश्यक छ, जसले उनीहरूलाई थप २० दिनसम्म हिरासतमा राख्न अनुमति मिल्ने सम्भावना रहेको छ ।

स्थिति नियन्त्रणमा लिन युनको निवास नजिकैको सडकमा करिब २ हजार ८ सय प्रहरी परिचालन गरिएको थियो ।

यो सियोल पश्चिमी जिल्ला अदालतले मंगलबार युन विरुद्ध सोमबार सम्म प्रभावकारी वारेन्ट जारी गरेपछि पछिल्लो राजनीतिक घटनाक्रम बृद्धि भएको हो ।

बिहीबार, युनको गिरफ्तारी वारेन्ट जारी भएपछि, करिब १०,००० समर्थकहरु यूनको निवास नजिकै भेला भएर जुलुस र नारावाजी गरेका थिए । केही समर्थकहरूले युनलाई हिरासतमा लिन अधिकारीहरू निवासमा प्रवेश गर्ने प्रयास गर्दा रोक्ने प्रयास समेत गरेका थिए ।