एजेन्सी ।
असफल शैनिक शासन प्रयास गरेका दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सियोल पश्चिमी जिल्ला अदालतले निलम्बित राष्ट्रपति योलविरुद्ध मंगलबार बिहान पक्राउ पुर्जी जारी गरेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पुष्टि गरेको हो ।
स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा कुनै पनि राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको यो पहिलो पटक हो । उच्च पदस्थ अधिकारिको छानबिनका लागि रहेको भ्रष्टाचार अनुसन्धान कार्यालयको अनुरोधमा अदालतले निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
गत डिसेम्बर ३ मा अप्रत्याशित रुपमा देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति योलले गर्दै छोटो अवधिको सैन्य कानुन अर्थात् ‘मार्शल ल’ घोषणा गरेका थिए भने ६ घण्टाको अन्तरालमा उनले आफ्नो घोषणा फिर्ता लिएका थिए ।
तर, विपक्षीले दोस्रो पटक संसदमा राष्ट्रपतिको कदमविरुद्ध ल्याएको महाभियोगको प्रस्तावमा सत्ता पक्षको समर्थनमा पारित भएपछि राष्ट्रपति योल निलम्बित भएका हुन । उनको मुद्दा संवैधानिक अदालतमा विचाराधीन छ ।
उनले चालेको कदमका विषयमा छानबिन गर्न र सोधपुछका लागि अदालतमा उपस्थित हुन भने पनि तीन पटकसम्म राष्ट्रपति नगएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै छानबिनको दायरामा ल्याइ अनुसन्धान गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयले अदालतलाई पक्राउ पुर्जी जारी गर्न आग्रह गरेको थियो ।
राष्ट्रपतिले आफ्नो कार्यालयमा प्रहरीलाई छापा मार्न समेत नदिएपछि भ्रष्टाचार कार्यालयले यस्तो कदम उठाएको बताइएको छ । 'मार्शल ल' लगाउने निर्णयका कारण संसद्ले महाभियोग लगाएपछि युनलाई राष्ट्रपतिको शक्तिबाट निलम्बन गरिएको थियो । युनलाई पुनर्स्थापित गर्ने वा उनलाई पदबाट स्थायी रूपमा हटाउने भन्ने बारेमा संवैधानिक अदालतको हातमा रहेको छ भने राष्ट्रपतिविरुद्धको सुनुवाइ र निर्णय गर्न अदालतसामू १८० दिन रहेको छ ।