एजेन्सी ।
तालिबान सेनाले पाकिस्तानी सेनालक्षित सिमा क्षेत्रमा गरेको भीषण आक्रमणमा परि डेढ दर्जन बढि पाकिस्तानी सैनिक मारिएका छन् ।
पाकिस्तानी वायुसेनाले अफगानिस्तानमा गरेको हवाई हमलाको जवाफ स्वरुप तालिबान सेनाले पाकिस्तानी सेनाको सिमा पोस्टलक्षित भीषण आक्रमण गरेको बताएको छ ।
तालिबान सेनाले बिहान करिब साढे चार बजे आक्रमण गरेको जसमा पाकिस्तानी सेनातर्फ ठूलो क्षति भएको बताइएको छ । उक्त हमलामा कम्तीमा १९ पाकिस्तानी सैनिकको मृत्यु भएको छ भने थुप्रै घाइते भएको अफगान मिडियाले जनाएको छ ।
डुरान्ड लाइनमा रहेको खोस्ट र पक्तिया प्रान्तमा दुवै सेनाबीच भिडन्त भएको तालिबान रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै टोलो न्युजले उल्लेख गरेको छ ।
तालिबानले यस हमलापछि पाकिस्तानी सेनाका दुईवटा पोस्ट कब्जा गरेको दाबी गरेको छ । तालिवानको यो भीषण हमलापछि पाकिस्तानी सेनाले अहिलेसम्म प्रतिक्रिया दिएको छैन । पाकिस्तानी सेनाले भने आक्रमणमा एक सैनिकको मात्र मृत्यु भएको दाबी गरेको छ । साथै जवाफी हमलामा कम्तीमा ३ अफगानी मारिएको र ९ जना घाइते भएको समेत पाकिस्तानी सेनाले जनाएको छ ।
शुक्रबारदेखि सुरु भएको भीषण भिडन्तले दुई छिमेकी देशबीचको पहिलेदेखि नै तनावपूर्ण सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पक्तिका प्रान्तमा पाकिस्तानी सेनाले हालै गरेको हवाई हमलाबाट झडप सुरु भएको थियो, जसमा महिला र बालबालिकासहित ५१ जनाको मृत्यु भएको थियो । जवाफी कारबाहीमा, अफगान सीमा सेनाले खोस्ट प्रान्तको अली शिर जिल्लामा धेरै पाकिस्तानी सैन्य चौकीहरूमा आक्रमण गरेको, उनीहरूलाई आगो लगाइदिएको र पक्तिया प्रान्तको डन्ड ए पाटन जिल्लाका दुई चौकीहरू कब्जा गरेका छन् ।
अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयले हताहतको पुष्टि गर्दै दान्ड ए पाटन जिल्लामा पाकिस्तानी सेनाले प्रहार गरेको मोर्टार गोलाबाट तीन अफगान नागरिकको मृत्यु भएको बताएको छ ।
जारी द्वन्द्वले तनावलाई बढाएको छ, पाकिस्तानले काबुलमा तालिबान शासनलाई सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ ।
गत साता अफगानिस्तान सिमामा तालिवान लडाकुहरुको आक्रमणमा १५ पाकिस्तानी सैनिक मारिएपछि दुई देशबिच पछिल्लो सिमा युद्ध चर्किएको हो