टोकियो, जापान ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले सैनिक कानून मार्शल लको घोषणाको लागि जनतासँग माफी मागेका छन् । राष्ट्रपति येओलले मार्शल लको घोषणाबाट उत्पन्न भएको सार्वजनिक चिन्ताका लागि शनिबार दक्षिण कोरियाली जनतासँग माफी मागेका हुन् ।
यूनले दक्षिण कोरियाली जनतालाई 'असुविधा र चिन्ता' निम्त्याउनको लागि माफी माग्दै टेलिभिजन क्यामेरा अगाडि आफ्नो शिर झुकाएका थिए । उनले आफ्नो घोषणा 'निराशा' बाट उत्पन्न भएको बताएका छन् ।
राष्ट्रलाई गरेको टेलिभिजन सम्बोधनमा, युनले मार्शल लको अर्को घोषणा नहुने वाचा पनि गरेका छन् ।
दुई मिनेटभन्दा लामो समयको संक्षिप्त भाषणमा उनले आफ्नो निर्णयबाट कुनै पनि कानुनी र राजनीतिक परिणामबाट बच्न नचाहेको बताउँदै दोस्रो पटक मार्शल लको घोषणा नहुने वाचा गरेका हुन् ।
यो बुधवार बिहान देखि यूनको पहिलो सार्वजनिक उपस्थिति हो । उनको मार्शल ल करिव ५ घण्टा पछि खारेज भएको थियो । यून आफ्नै पार्टिभित्र समेत राजनीतिक रुपमा एक्लिएका छन् । उनकै दलले समेत आज साँझ ५ बजे हुने महाअभियोगको बिपक्षि दलको प्रस्तावलाई सघाउने तयारी गरिरहेको छ ।
राष्ट्रिय सभाले शनिबार साँझ महाभियोगको प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ, जुन उनको पार्टीका कम्तिमा आठ सांसदले विपक्षमा मतदान गरेमा पारित हुने सम्भावना छ । युनियनहरू, विपक्षी दलहरू र अन्य समूहहरूले यून विरुद्ध विशाल प्रदर्शनको आह्वान गरेका छन् ।
युनले आफ्नो बाँकी कार्यकाल र देशको सुशासनलाई स्थिर बनाउने निर्णय आफ्नो पार्टीमा छोड्ने बताएका छन् ।
शुक्रबार युनको पीपुल पावर पार्टीका प्रमुख हान डोङ हुनले राष्ट्रपतिलाई नेतृत्व गर्न अयोग्य भनेका थिए । विपक्षी सांसदहरूसँग सामेल भएका उनले दोस्रो पटक मार्शल ल घोषणा गरेर सत्तामा टाँसिने प्रयास गर्न सक्ने टिप्पणी समेत गरेका छन् ।