(Japan) 17 th April | 2026 | Friday | 2:20:47 AM || (Nepal) 11:05:47 PM
 
 


श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न आदेश

  POSTED ON : Sunday, 17 November, 2024 | Views : 1640

श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न आदेश


एजेन्सी ।

रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) नलिइ काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट ९देश निकाला० गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ ।

विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो ।

उनीहरुलाई गत कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेको थियो । त्यहाँ उनीहरु कल सेन्टरमा काम गर्थे । जसमा १२ जना महिला विद्यार्थी रहेका छन् ।

पक्राउ लगत्तै प्रहरीले स्थानीय अदालतमा पेश गरेको थियो । गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार ती विद्यार्थीहरुलाई मस्कोबाट ६० किलोमिटर टाढा पर्ने शाखा रवाहस्थित डिपोर्टटेशन सेन्टरमा राखिएको छ । उनीहरुलाई नेपाल पठाउने तयारी भइरहेको छ । जसमा तीन महिना अघि मात्र रुस पुगेका सहित डेढवर्ष अगाडि रुस पुगेकाहरु छन् ।

‘ती नेपालीको विद्यार्थीको हैसियतमा बस्न पाउने मात्र भिसा छ । यसले मात्रै काम गर्न पाइँदैन । काम गर्नको लागि कम्पनीसँग करारपत्र हुनुपर्छ । उनीहरुले विश्वविद्यालयबाट पढिरहेको कागज पनि ल्याउन सकेनन् । दोस्रो उनीहरुले काम गरेको करारपत्र पनि ल्याउन सकेनन्,’ अध्यक्ष तिमल्सिनाले भने,‘ती दुई वटा कागजपत्र पेश गर्न सकिएको भए अपिलको लागि वकिलको व्यवस्था गरिदिन सकिन्थ्यो । वकिलले डिपोर्ट रोक्नको लागि अपिल गर्न सक्छन । उनीहरुले कुनै पनि कागज जुटाउन असमर्थ भए ।’

उनीहरु काम गर्न नै भनेर विद्यार्थी भिसाको आवारणमा आएकोले डिपोर्ट हुने फैसला भएको उनले बताए । डिपोर्ट भएपछि ५ वर्ष रुस आउन पाइँदैन । दुई वर्ष अघिपनि रुसले १५ जना विद्यार्थीलाई १४ दिनभित्र जेलमा राखेर डिपोर्ट गरिदिएको थियो ।

रसिया मात्र नभई युरोप, अमेरिका, अष्ट्रेलिया, जापान लगायत देशमा जाने विद्यार्थीहरुलाई कन्सल्टेन्सि तथा एजेन्टहरुले काम धेरै र जहाँ पनि गर्न पाइने, कमाई धेरै हुने जस्ता अवास्तविक जानकारी दिएर लोभ्याई भिषा लगाएर लाखौं रुपैयाँ शुल्क लिने गर्दछन् । तर ति देश पुगेपछि सम्वन्धित देशको कानुन विपरित हुँदा पक्राउ पर्ने, आर्थिक समस्यामा पर्ने, मानसिक तथा अन्य कारणले ज्यान समेत गुमाउनुपरेका घटनाहरु बढ्दो मात्रामा आउने गरेका छन् ।