एजेन्सी ।
चीनको पूर्वी शहर वुसीमा रहेको एक कलेजमा एक युवकले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनामा अन्य १७ जना घाइते भएका छन् ।
२१ वर्षीय युवकले कलेजका विद्यार्थीहरुमाथि जो भेट्यो उसैमाथि चक्कु प्रहार गरेका थिए । घटनालगत्तै प्रहरीले आक्रमणकारी युवकलाई नियन्त्रणमा लिएको छ । ती युवकले उक्त कलेजमा हालै सम्पन्न परीक्षाको नतिजा खराब आएपछि कलेजले उनलाई डिप्लोमा दिन अस्वीकार गर्दा आक्रोशमा आएर चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।
चक्कु प्रहारका क्रममा उनी कलेजका विद्यार्थीहरुको माझ पुगेर प्रहार गर्दा विद्यार्थीहरुबीच कोलाहल मच्चिएको थियो । ती युवक उक्त कलेजका अध्धयनशील विद्यार्थीको रुपमा रहेको बताइन्छ ।
घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घटनापछि उक्त कलेज एक साताका लागि बन्द गरिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत सोमबार चीनको दक्षिणी सहर झुहाईको एक स्टेडियममा चालकले भीडमा कार चलाउँदा ३५ जनाको मृत्यु भएको थियो ।