(Japan) 17 th April | 2026 | Friday | 2:20:01 AM || (Nepal) 11:05:01 PM
 
 


अनुदान अनिश्चित बनेपछि जेलेन्स्कीको बोली फेरियो : ‘रुससँग युद्ध अन्त्य गर्न चाहन्छौँ’

  POSTED ON : Sunday, 17 November, 2024 | Views : 1156

अनुदान अनिश्चित बनेपछि जेलेन्स्कीको बोली फेरियो : ‘रुससँग युद्ध अन्त्य गर्न चाहन्छौँ’


एजेन्सी ।

अमेरिकामा बाइडेन प्रशासन रहँदा र युरोपियन देशहरूले हतियार अनुदान र नगद ऋणमा दिँदा रुससँगको युद्ध जारी रहने र विजय प्राप्त गर्ने अभिव्यक्ति दिँदै आएका युक्रेनी राष्ट्रपति जेलेन्सकीको अभिव्यक्ति फेरिन थालेको छ । 


अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति जितेसँगै युक्रेनलाई दिँदै आएको अनुदान कटौती गर्ने आम विश्लेषण गरिरहदा युरोपियन देशहरुले पनि साथ छोड्ने सम्भावनाका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन । 


जेलेन्स्कीले अर्को वर्ष डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदको कार्यभार सम्हाल्ने बित्तिकै यो द्वन्द्व पहिले भन्दा छिट्टै अन्त्य हुने आशा राखेको बताएका हुन । 


युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन, “यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ। हामीले कूटनीतिक माध्यमबाट यसलाई अन्त्य गर्नुपर्छ। यो धेरै महत्त्वपूर्ण छ।”


रूस र युक्रेनबीच कुनै अर्थपूर्ण वार्ता भएको छैन, तर ट्रम्पको राष्ट्रपति पदले द्वन्द्वको भविष्यमाथि प्रश्न उठाएको छ। रिपब्लिकन नेता ट्रम्पले बारम्बार छिटो युद्ध अन्त्य गर्ने बताउंदै आएका छन । उनले युक्रेनलाई अमेरिकाले दिंदै आएको अर्बौंको सैन्य सहयोग रोक्ने बताइसकेका छन । 


जेलेन्स्कीले भनेका छन, “रूसीहरु के चाहन्छन् भनेर हामीले बुझ्नुपर्छ।”


रूसतर्फ सङ्केत गर्दै उनले भने, “हामीले यस्तो राज्यसँग युद्ध गरिरहेका छौँ कि जसले आफ्ना जनताको कदर गर्दैन, जहाँ धेरै उपकरणहरू छन्, जसले कति मानिसहरू मर्छन् भन्ने कुराको वास्ता गर्दैन।”


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले कब्जा गरेको युक्रेनी भूमि किएभले दाबी नगरी आत्मसमर्पण गरेमा मात्र युक्रेनसँग वार्ता स्वीकार गर्ने बताएका छन । 


क्रेमलिनले शुक्रबार जर्मन चान्सलर ओलाफ स्कोल्जसँग फोनमा भएको कुराकानीमा उक्त माग दोहोर्‍याएको जनाएको छ। जेलेन्स्कीले पुटिनको सर्त अस्वीकार्य भएको बताएका छन । तर युक्रेनसँग अमेरिकाले सैन्य सहायता रोकेमा रुससँग  एक्लै लड्नु वा सर्त मान्नु बाहेक कुनै बिकल्प देखिंदैन ।


मस्को यस वर्षको गृष्मयामदेखि पूर्वी युक्रेनमा निरन्तर अघि बढ्दै पोक्रोभ्स्क र कुराखोभ जस्ता प्रमुख क्षेत्रहरूको नजिक पुगेको छ । यसले युक्रेन युद्वमा पराजय नजिक पुगिसकेको देखाउँछ ।


जेलेन्स्कीले शनिबार रुसी सेनाले ठूलो क्षति व्यहोर्नुपरेको र केही क्षेत्रमा सैन्य कारबाही ‘सुस्त’ भएको दाबी गरे पनि रुसी सेनाले युक्रेन बिरुद्व आक्रमण बढाउँदै र युक्रेनी भुमिमाथिको कब्जा बढाउंदै लगेको छ ।