एजेन्सी ।
प्यालेस्टाइनको गाजा क्षेत्रलाई ध्वस्त बनाएर ४४ हजार भन्दा धेरैको ज्यान लिएको इजरायली सेनाले लेबनानमा त्यस्तै बिध्वंस बढाएको छ ।
अमेरिका, बेलायत, जर्मनी लगायत पश्चिमा देशबाट अनुदान र हतियार किनेर ति देशको समर्थनमा नरसंहार जारी राखेको इजरेलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण गर्दा ५९ जना सर्वसाधारण मारिएका छन् भने १८२ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एएफपिटिभीका अनुसार निकासी आदेश जारी गरेको केही समयपछि इजरायलले त्यहाँ पुनः आक्रमण गरेको हो ।
इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा मङ्गलबारदेखि निरन्तर आक्रमण गरेको जनाउँदै एएफपिटिभीले शनिबार बिहान उक्त क्षेत्रका भवनहरूबाट धुवाँ उडेको देखाएको छ ।
आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा हारेट ह्रीक उपनगरका बासिन्दाहरूलाई उक्त क्षेत्र खाली गर्न धम्किपूर्ण आदेश जारी गरेका थिए ।
पोष्टमा अरबी भाषामा कम्तिमा ५०० मिटर टाढा जान आग्रह गर्दै हिजबुल्लाहका आधार नजिक भएकालाई इजरायली सेनाले आक्रमण गर्ने भन्दै हट्न धम्की दिएका थिए ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ । अलजजिराले बितेको एक घण्टामा कम्तिमा ४ वटा हवाई आक्रमण भएको उल्लेख गरेको छ ।
पछिल्लो समय दक्षिण बारम्बारको इजरायली हवाई आक्रमणले बेरुतबाट उल्लेख्य संख्यामा नागरिकहरू पलायन हुन थालेका छन् ।
दक्षिणी लेबनानमा इजरायलले शुक्रबार राति र शनिबार बिहान धेरै आक्रमणहरू गरेको एनएनएले जनाएको छ ।
यसैगरी हिजबुल्लाहले पनि उत्तरी इजरायलमा सेनाको मुख्यालयलाई लक्षित गरी दुईवटा रकेट आक्रमण गरेको दाबी गरेको छ ।
गत सेप्टेम्बर–२३ देखि, इजरायलले लेबनानमा हवाई आक्रमण बढाएको छ भने हिजबुल्लाहले स्थलगत सेना तैथान गरेको छ ।
लेबनानी अधिकारीहरूका अनुसार गत वर्षको अक्टोबरमा हिजबुल्लाह र इजरायलबीच आक्रमण सुरु भएदेखि तीन हजार ५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।
द्वन्द्वले लेबनानमा पाँच अर्ब डलर भन्दा बढी आर्थिक नोक्सान पुर्याउनुका साथै अरबौंको संरचनात्मक क्षति भएको विश्व बैङ्कलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।