(Japan) 17 th April | 2026 | Friday | 2:27:08 AM || (Nepal) 11:12:08 PM
 
 


कतारद्धारा गाजा युद्धविराम सम्झौता मध्यस्थता त्यागेको घोषणा

  POSTED ON : Sunday, 10 November, 2024 | Views : 894

कतारद्धारा गाजा युद्धविराम सम्झौता मध्यस्थता त्यागेको घोषणा


टोकिया, जापान ।

कतारले इजरायल र इस्लामिक समूह हमासबीचको युद्धविराम वार्तामा मध्यस्थता गर्ने आफ्नो प्रयासलाई स्थगित गरेको जनाएको छ ।

कतारले अमेरिका र इजिप्टसँग गाजामा युद्धविराम र बन्धक रहेकालाई रिहा गर्ने सम्झौतामा मध्यस्थता गर्ने प्रयास गरिरहे पनि वार्ता अलपत्र परेपछि मध्यस्थता त्यागको घोषणा गरेको हो ।

कतारको विदेश मन्त्रालयका प्रवक्ताले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “कतारले सहमतिमा पुग्ने अन्तिम प्रयासका क्रममा १० दिनअघि दुवै पक्षहरूलाई सूचित गरेको थियो, यदि सहमति नभएमा हमास र इजरायलबीच मध्यस्थता गर्ने आफ्नो प्रयासलाई त्यस्तो अवस्थामा रोक्ने छ ।ू

प्रवक्ताले तत्कालको लागि आफ्नो मध्यस्थता रोकेको जानकारी सहित दुवै ूपक्षहरूले क्रूर युद्ध अन्त्य गर्न आफ्नो इच्छा र गम्भीरता देखाउँदा कतारले ती प्रयासहरू पुनः सुरु गर्ने बताएको छ ।

बाइडेन प्रशासनका एक अधिकारीले शुक्रबार अमेरिकाले कतारलाई हमासलाई कतारको राजधानी दोहामा रहेको आफ्नो कार्यालय देश बाहिर सार्न आग्रह गरेको जनाएको छ ।

विज्ञप्तिमा कतारी प्रवक्ताले हमासको कार्यालयको मुख्य लक्ष्य सञ्चारको माध्यम हुनु रहेको जवाफ अमेरिकालाई दिएको छ ।

यसैबिच कतारले हमासलाई आफ्नो कार्यालय सार्न आग्रह गरेको केही मिडिया रिपोर्टहरू गलत भएको बताएको छ ।

कतारको मध्यस्थता फिर्ताले दुई युद्धरत पक्षहरू बीचको वार्ता अनिश्चित बन्न पुगेको छ भने गाजा क्षेत्रमा इजरायली नरसंहार थप चुलिने आशंका गरिएको छ ।

यसैबीच, इजरायली सेनाले शनिबार पनि गाजामा आक्रमण जारी राखेको छ।

कतारस्थित प्रसारक अल जजिराले गाजा शहर, उत्तरी गाजाको बेत लाहिया र अन्य ठाउँमा रहेका शरणार्थीहरु बसेका स्थानमा बमबारी गरेर इजरायली सेनाले कम्तिमा ४० जनाको हत्या गरेको जनाएको छ ।

हालसम्म इजरायलले गाजा सहित प्यालेस्टाइनभर गरेको बमबारी, रकेट आक्रमण र गोली प्रहारमा करिव ४४ हजार नागरिक मारिएका छन् । शुक्रबार मात्र इजरायली सेनाले गोली प्रहार गरि ४ जना स्थानिय पत्रकारको हत्या गरेको छ ।

इजरायली सेनाले गाजामा जारी नरसंहारको समाचार संकलन गर्दै आएका पत्रकारहरुलाई त्यसबाट बिचलित बनाउन उनिहरुको ज्यान लिनेगरि गोली प्रहार सहित निसाना बनाएर रकेट आक्रमण समेत गर्दै आएको छ ।