टोकियो, जापान ।
उत्तर कोरियाका नेता किम जोङ उनले आणविक हतियारको उत्पादन बढाउने आफ्नो नीतिलाई पुनः पुष्टि गरेका छन् ।
राज्य सञ्चालित कोरियाली केन्द्रीय टेलिभिजनले मंगलबार रिपोर्ट गरे अनुसार किमले सोमबार देशको स्थापनाको ७६ औं वार्षिकोत्सवमा राष्ट्रिय शासन नीतिको बारेमा भाषण दिएका छन् ।
सत्तारुढ वर्कर्स पार्टीका वरिष्ठ सदस्यहरूलाई सम्बोधन गर्दै किमले सैन्य शक्तिको सुदृढीकरणलाई जोड दिएका छन् ।
आफ्नो भाषणमा, उनले अमेरिकाको नेतृत्वमा सैन्य ब्लक आणविक हतियारमा आधारित प्रणालीमा विकसित हुँदै गएका्े र आफ्नो देशको लागि 'गम्भीर खतरा' भएको बताए । उनले जापान, अमेरिका र दक्षिण कोरियाबीचको सुरक्षा सहयोगलाई यसमा जोडेका थिए ।
किमले उत्तर कोरियाले 'अहिले ज्यामितीय प्रगतिद्वारा आणविक हतियारको संख्या बढाउने नीति अब पूर्णतया पालना गरिरहेको' प्रष्ट पारे ।
उत्तर कोरियाली नेता किमले आफ्नो देश 'एक जिम्मेवार आणविक हतियार राष्ट्र' भएको स्पष्ट पारे ।
गत वर्ष जनवरीमा रिपोर्ट गरिएको भाषणमा, किमले देशको आणविक हतियारको संख्या 'तीव्र रूपमा' बढाउनु पर्ने आवश्यकतामा पनि जोड दिएका थिए ।
वाशिंगटनले जापान र दक्षिण कोरियाको रक्षा गर्न आफ्नो आणविक शक्तिहरू सहितको विस्तारित प्रतिरोधलाई निरन्तर बलियो बनाउने नीति राखेको छ । यसले उत्तर कोरियालाई फेरि आणविक प्रतिरोध बढाउने आफ्नो योजनालाई अघि बढाउन प्रेरित गरेको देखिन्छ ।