टोकियो, जापान ।
जापानले बिदेशीहरुका लागि भिषा शुल्क ५ गुणाले बढाउने निर्णय गरेको छ ।
निक्केई समाचार संस्थाका अनुसार जापान सरकारले सन् २०२६ देखि विदेशी नागरिकहरूका लागि भिसा शूल्क ५ गुणाले बढाउने निर्णय शुक्रबार गरेको हो ।
डिसेम्बर २६ मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट योजना मार्फत यस्तो नीति लागू गर्ने बताइएको छ ।
नयाँ व्यवस्था अनुसार हाल ३ हजार येन रहेको 'सिंगल इन्ट्री' भिसा शुल्क बढेर १५ हजार येन पुग्नेछ । त्यसैगरी, ुमल्टिपल इन्ट्रीु भिसाको शुल्क करिब ३० हजार येन बनाउने प्रस्ताव गरिएको छ ।
यसरी शुल्क बढाउँदा जापानले एक बर्षमै १ खर्ब २० अर्ब येन कमाउने अनुमान गरिएको छ ।
जापानमा सन् १९७८ यता भिसा शुल्क परिवर्तन गरिएको थिएन, जसका कारण पश्चिमा देशहरुको तुलनामा जापानमा भिषा शुल्क कम रहेको थियो ।
अनावश्यक वा गलत विवरण सहितका निवेदनहरूलाई निरुत्साहित गर्न पनि शुल्क वृद्धि गर्न लागिएको तर्क जापानी अधिकारीहरुले गरेका छन् ।
जापानको यो घोषणासँगै जापान आउन चाहने नेपाली कामदार, विद्यार्थी र पर्यटकहरूलाई थप आर्थिक भार पर्ने छ ।
रकम बृद्धिको विषयमा सरकारले नीति अघि बढाएपनि अन्तिम शुल्क निर्धारण सर्वसाधारणको सुझावपछि गरिने बताइएको छ ।
बिदेशी पर्यटकहरुका लागि शुल्क असुलीबढि गर्ने भएपनि जापानले आफ्ना नागरिकहरुका लागि भने सहुलियत दिने भएको छ ।
हाल १० बर्षे पासपोर्टका लागि लाग्दै आएको ९ हजार येन शुल्कलाई घटाएर ७ हजार येन बनाउने जापान सरकारले जनाएको छ ।