(Japan) 15 th April | 2026 | Wednesday | 7:06:50 AM || (Nepal) 3:51:50 AM
 
 


बिनासकारी भूकम्पले राष्ट्रिय संकट निम्त्याउन सक्ने जापानी विज्ञहरुको चेतावनी

  POSTED ON : Saturday, 20 December, 2025 | Views : 814

बिनासकारी भूकम्पले राष्ट्रिय संकट निम्त्याउन सक्ने जापानी विज्ञहरुको चेतावनी


टोकियो, जापान ।

जापानी सरकारी प्यानलले टोकियो मुनि सिधै जाने शक्तिशाली भूकम्पले १८,००० जनाको ज्यान लिन सक्ने र लगभग ८३ खर्व येनको क्षति पुर्‍याउन सक्ने अनुमान गरेको छ ।

प्यानलले भूकम्पले निम्त्याउने विपद् राष्ट्रिय संकट स्तरमा हुने चेतावनी दिएको छ र प्रभावलाई कम गर्न सामाजिक स्तरमा व्यापक प्रयासहरूको लागि आह्वान गरेको छ।

प्यानलले १२ वर्ष अघि जारी गरिएको अघिल्लो अनुमानको समीक्षा गरेको थियो, त्यस अवधिमा विपद् रोकथाम उपायहरूमा भएको प्रगति र सामाजिक परिवर्तनहरूलाई ध्यानमा राख्दै नयाँ मापदण्ड अनुसार पूर्वानुमान गरेको हो । प्यानलले शुक्रबार विपद् व्यवस्थापन मन्त्री अकामा जिरोलाई नयाँ क्षति अनुमान पेश गरेको थियो ।

पछिल्लो मूल्याङ्कनले टोकियो महानगरीय क्षेत्रमा र वरपर केन्द्रित २४ सम्भावित भूकम्प परिदृश्यहरूको जाँच गरेको थियो ।

एउटा परिदृश्यमा, जहाँ मध्य टोकियोको दक्षिणी भाग मुनि ७.३ म्याग्निच्युडको भूकम्प गएमा, टोकियो र यसको छिमेकी प्रिफेक्चरहरू साइतामा, चिबा र खानागावा सहितको फराकिलो क्षेत्रले जापानी भूकम्पीय तीव्रता स्केलमा शून्य देखि ७ सम्म कम्तिमा ६ रेक्टर स्केलको कम्पन अनुभव गर्ने अनुमान गरिएको छ। केही क्षेत्रहरूमा अधिकतम तीव्रता ७ रेकर्ड हुनेछ ।

अनुमानले सबैभन्दा खराब अवस्थामा, हावा चलेको जाडो साँझमा यस्तो भूकम्प आउँदा मृत्यु हुनेको संख्या १८,००० सम्म पुग्न सक्छ र ४,००,००० भवनहरू हल्लाएर वा जलेर नष्ट हुन सक्छन् । मूल्याङ्कनले लगभग ७० प्रतिशत क्षति आगोबाट हुने अनुमान गरेको छ ।

अनुमानित मृत्यु हुनेको संख्या र क्षतिग्रस्त भवनहरूको संख्या अघिल्लो अनुमानको तुलनामा लगभग २० देखि ३० प्रतिशत कम छ, जसले घरहरूलाई भूकम्प प्रतिरोधी बनाउने र घना बस्ती क्षेत्रलाई कम गर्ने प्रगतिलाई प्रतिबिम्बित गर्दछ । तथापि, अनुमानित क्षति विनाशकारी हुनेछ ।

विद्युत् अवरुद्ध हुँदा २ करोड ४० लाखसम्म मानिसहरू प्रभावित हुन सक्छन् । दिनको समयमा भूकम्प गएमा ८४ लाखसम्म मानिसहरू घर फर्कन असमर्थ हुन सक्छन् ।

मूल्याङ्कनले यदि श्रमशक्तिमा कमी र उत्पादनमा अवरोध लामो समयसम्म रह्यो भने आर्थिक प्रभाव स्वदेशमा मात्र नभई विदेशमा पनि महसुस हुन सक्ने र यसले व्यापार असफलता निम्त्याउने चेतावनी दिएको छ ।