टोकियो, जापान ।
एनआरएनएको ईतिहासमै जापानमा कुनैपनि देशमा आबद्व हालसम्मकै धेरै सदस्य संख्याको किर्तिमान जापानले बनाएको छ ।
आफ्नो देशको मात्र नभई एनआरएनएको ईतिहासमै धेरै सदस्यता बनाउने देशको रुपमा जापानमा कुल २३ हजार भन्दा धेरैको आबेदन परेको छ ।
आबेदन मध्ये यो समाचार तयार पार्दासम्म करिव १४ हजार सदस्यता स्विकृत भइसकेको एनआरएनए जापानका अध्यक्ष नबिन न्युरेले जापानसमाचारलाई जानकारी दिएका छन ।
जुन १० तारिख मध्यरात १२ बजेसम्मको निर्धारित समयतालिकामा निम्नानुसार आबेदन प्राप्त भएको न्युरेले जानकारी दिए ।
उल्लेखित सदस्यता आबेदन संख्या अन्तिम बिवरण नभएपनि अन्तिम आबेदन संख्यामा २/४ जनामात्र थपिन सक्ने तर चेकजाँच बाँकी रहेका र आबेदन प्रकृया पुरा गर्न बाँकी सहित अनुमानित १७ हजार सदस्य संख्या पुग्न सक्ने देखिएको छ ।
यस्तो छ हालसम्मको ताजा विवरण
२०२५-२०२७ को लागि कूल २३,२१८ जनाको आबेदन !
आबेदन मध्ये १३,९७७ जनाको सदस्यता स्विकृत
आबेदन प्रकृया पुरा हुन बाँकी संख्या ४,५५०
आबेदन मध्ये चेकजाँच, स्विकृत हुन बाँकी ४,०८७
आबेदक मध्ये कागजात पुरा नगरिएको ९६६
सदस्यताबाट करिव २ करोड उठ्ने अनुमान
एनआरएनए जापानको खातामा क्रेडिट कार्ड प्रयोग गरी खातामा जम्मा भएको कुल रकम : ४,४१६,९०६ (चौवालिस लाख सोह् हजार ९ सय ६ येन)
बैंकमा जम्मा रकमको बिवरण आउन बाँकी
एनआरएनए जापानद्वारा जारी प्रेस नोट
गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधनसहित) को परिच्छेद २ को दफा ५ को ५.१, परिच्छेद ४ को दफा ८ बमोजिम योग्यता पुगेका तथा राष्ट्रिय समन्वय परिषद् जापानको विधान २००४ (संशोधन सहितको २०२४) को परिच्छेद ३ को दफा ११ र गैर आवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन सञ्चालन तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धी नियमावली २०२१ को दफा ४ बमोजिम हुने गरि राष्ट्रिय समन्वय परिषद् जापानले २०२३–२०२५ कार्यकालका सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई आगामी कार्यकाल २०२५–२०२७ का लागि सदस्यता नवीकरण गर्न तथा इच्छुक नयाँ सदस्यहरूले पनि सदस्यता लिन सहजताको लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत MIS प्रणाली ( जापानबाट बनेका सदस्यहरुलाई जापानको आफ्नै पोर्टलमा API हुने गरि समेत राखिने) मा जापानको सदस्यता पञ्जीकरण २०२५ में १ तारिखदेखि २०२५ जुन १० तारिखसम्मका लागि खुला गरिएकोमा जुन १० तारिखको आवेदन दिने समयावधिसम्ममा न्यू मेम्बरशिप एप्लिकेशनमा ४ हजार ८६ जना, पेन्डिङ एप्लिकेशनमा ९६६ जना ड्राफ्ट एप्लिकेशनमा ४ हजार ५ सय ६७ जनाको आवेदन रहेको जानकारी गराइन्छ।
यो समयावधिसम्म १३ हजार ९ सय ६८ जनाको आवेदन स्वीकृत भइसकेको छ । यस मध्य कान्तो क्षेत्रबाट ३ हजार ९ सय ३१, नागोया क्षेत्रबाट १ हजार ६ सय ८०, कान्साई क्षेत्रबाट २ हजार ९ सय ५२, क्युस्यू क्षेत्रबाट १ हजार ५ सय २८, ओकिनावा क्षेत्रबाट १ सय ९, हिरोसिमा क्षेत्रबाट ७६, होक्काइडो क्षेत्रबाट ९०, निगाता क्षेत्रबाट ३ सय २०, सिजुओका क्षेत्रबाट ५ सय ५, नागानो क्षेत्रबाट ५५, गुन्मा क्षेत्रबाट ४ सय १, तोचिगि क्षेत्रबाट २ सय ५८, सेण्दाइ क्षेत्रबाट २ सय ६८, चिबा क्षेत्रबाट ८ सय ८३ र अन्यबाट ९ सय १३ जना पञ्जिकृत सदस्य स्वीकृत भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।
आवेदन आइसकेका सदस्यहरुको हालका लागि जुन १५ तारिखसम्म प्रमाणीकरण गरि सकिने र पेन्डिङ रहेका आवेदकहरुले आफ्नो इमेल चेक गरेर अपुग रहेको कागजात जुन १५ भित्र अनिवार्य संलग्न गराउनु हुनका लागि समेत अनुरोध गर्दछौं। सदस्यता आवेदन दिई प्रमाणीकरणका क्रममा तोकिएका योग्यता बाहेकको प्रमाणीकरण भएको वा अन्य केहि त्रुटि रहेको पाइएमा सोहि मिति भित्र जानकारी गराएर सहयोग गरिदिनु हुनका लागि सम्बन्धित सम्पूर्णमा अनुरोध गर्दछौं।
एनआरएनए जापानले एनआरएनएको पञ्जिकृत सदस्यता खुला गरि उत्साहजनक रुपमा सदस्यता आवेदन गर्नु भएकोमा जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं।
यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने एनआरएनए जापानको सिङ्गो कार्यसमिति, एनआरएनए जापान अन्तर्गतका १२ वटा क्षेत्रीय समन्वय परिषद्का सम्पूर्ण टिम, एनआरएनए अभियन्ता, सामाजिक संस्था सस्था, प्रबुद्ध व्यक्तित्व, सामाजिक व्यक्तित्व पत्रकार तथा सञ्चारकर्मीसहित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै यस्तै साथ सहयोग र सहकार्यको अपेक्षा गर्दछौं।
मिति २०२५ जुन ११ तारिख